काठमाडौ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै पार्टीका पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का सर्वोच्च अदालत पुगेका छन्।
देउवा र खड्का सोमबार वारेस मार्फत छुट्टाछुट्टै रिट लिएर सर्वोच्च पुगेका हुन्। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार दुवै रिटमाथि अहिले अध्ययन भइरहेको छ। ‘रिट पेस भएको छ। दर्ता हुने/नहुने विषयमा अध्ययनपछि निर्णय हुन्छ,’ प्रवक्ता कोइरालाले बताएका छन्।
यसअघि गत शुक्रबार (भदौ ५) पनि देउवाले यही विषयमा सर्वोच्चमा रिट पेस गरेका थिए। तर कार्यालय समय सकिन लागेकाले आवश्यक ‘करेक्सन’ गर्ने भन्दै उक्त रिट फिर्ता लगिएको थियो। कांग्रेसको ०८२ पुसमा सम्पन्न विशेष महाधिवेशनलाई निर्वाचन आयोगले वैधता दिएको थियो।
त्यसविरुद्ध परेको विवादमा सर्वोच्च अदालतको संयुक्त इजलासले समेत आयोगको निर्णय सदर गरेको थियो। तर, देउवा समूहकै निवेदनका आधारमा सर्वोच्चमा यसअघिको फैसलामाथि पुनरवलोकनको प्रक्रिया अघि बढेको छ। यही अवस्थामा पार्टीको १५औँ महाधिवेशनको प्रक्रिया अघि बढाउँदा थप कानुनी जटिलता उत्पन्न हुने भन्दै देउवा र खड्काले महाधिवेशन रोक्न माग गरेका हुन्।




प्रतिक्रिया