काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद मनिष झाले शनिबारदेखि जनकपुरको सार्वजनिक जमिनमा डोजर चलेपछि स्थानीय त्रसित भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले लगभग ६५ वटा घरमा डोजर चलेको सदनमा जानकारी गराए ।
‘गरिबहरूको बस्ती मात्रै हटाउने र ठूलाबडालाई नछुने हो कि भन्ने त्रास छ । मैले गुठी संस्थानसँग गरेको समन्वयमा १५ दिनभित्र ठूलाबडाको होटल, पोखरी मिचेर बनाइएको होटलको पार्किङ, पोखरी मिचेर बनाइएको अस्पताल, पोखरी मिचेर बनाइएको अरू संरचना, पोखरी मिचेर बनाइएको भाडामा लगाइएको जमिन जसको निजी व्यक्तिहरूले भाडा खाइरहेका छन्, यी ठाउँहरू पनि धेरै चाँडो नोटिस दिएर त्यसलाई खाली गराइनेछ ,’ उनले भने ।
उनले यसको लक्ष्य र प्रहार केवल गरिबहरूमाथि मात्र हुन नहुने बताए ।
उनले भने ,‘सबैमाथि समान व्यवहार गरियोस् । यसको लक्ष्य अधिग्रहण गरिएको जनकपुरको ९५० बिघा जमिनमा हो । त्यो जग्गालाई सार्वजनिक रूपमै त्यसलाई फर्काउने अभियान सफल होस्, सजग होस् भन्ने सन्तुलित अनुरोध छ ।’
जनकपुर नेपालको उपमहानगरपालिकाहरू मध्ये सबैभन्दा धेरै सार्वजनिक जमिन भएको ठाउँ भएको उनको भनाइ छ ।




प्रतिक्रिया