शरद रेग्मी, तुलसीपुर । तुलसीपुरमा पछिल्लो समय सडक दुर्घटना बढ्दै गएपछि दुर्घटना न्यूनीकरणका लागि मदन आश्रित चोकदेखि गुम्राह चोकसम्म सडक डिभाइडर राखिएको छ।

तुलसीपुर उद्योग वाणिज्य संघले इलाका प्रहरी कार्यालय तुलसीपुर, स्थानीय सरकार र राप्ती बबई क्याम्पससँगको सहकार्यमा दुर्घटना बढी हुने क्षेत्र पहिचान गरी डिभाइडर राखेको हो।

एक सातामै दुई जनाको ज्यान गएको तथा उक्त सडकखण्डमा दैनिकजसो दुर्घटना हुने गरेको भन्दै दुर्घटना न्यूनीकरणका लागि अभियान सञ्चालन गरिएको संघले जनाएको छ।
संघका अध्यक्ष विनिल केसीका अनुसार पहिलो चरणमा नमुनाका रूपमा करिब १ लाख ६० हजार रुपैयाँ बराबरका डिभाइडर राखिएको हो। सडक प्रयोगकर्तालाई सचेत बनाउँदै दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले अभियानलाई अघि बढाइएको उनले बताए ।
कार्यक्रममा सहभागीहरूले सडक दुर्घटना न्यूनीकरणका लागि अभियान प्रभावकारी हुने बताउँदै सडक सुरक्षाका लागि प्रहरी, स्थानीय सरकार, निजी क्षेत्र, शैक्षिक संस्था र नागरिकबीचको सहकार्य आवश्यक रहेकोमा जोड दिए ।
डिभाइडर राख्ने कार्यक्रममा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख होमबहादुर पराजुली, पूर्वजनप्रतिनिधि एवं सामाजिक अभियन्ता नवराज लामिछाने, संघका पूर्वअध्यक्ष विमल रिजाललगायतको सहभागिता थियो।




प्रतिक्रिया