काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणअन्तर्गतको भेल्पा हात्तिवन जग्गा एकिकरण आयोजनामा पूर्व आयोजना प्रमुखहरुले व्यापक अनियमिता गरेको पाइएको छ । पूर्व आयोजना प्रमुख तथा ललितपुर जिल्लाका जिल्ला आयुक्तसमेत भईसकेका सफल श्रेष्ठले पहुँचवालालाई आयोजनाको जग्गा निःशुल्क भोगचलन गर्नेगरी वितरण गरेको पाइएको छ । उनले सहयोग समितिका पूर्व सदस्य मुकुन्द वाग्लेलाई करिब ३ आना र सहयोग समितिका पूर्व अध्यक्ष पुरुषोतम बरालका साडु भाई रुमोज पोख्रेललाई करिब ३ आना जग्गा निःशुल्क भोगचलन गर्न दिएको पाइएको हो ।
रुमोज पोख्रेलले आयोजनालाई जग्गा विकासको योगदानवापत रकम तिर्नसमेत बाँकी छ । तर उक्त पूर्व आयोजना प्रमुख श्रेष्ठले उनै पोख्रेललाई निःशुल्क जग्गा मात्र दिएनन्, आयोजनाकै पैसा पैसा खर्च गरेर अतिक्रमण गरेको जग्गामा पक्की कम्पाउन्ड वालसमेत लगाई दिएको स्रोतले बतायो । उनी ललितपुर जिल्ला आयुक्त कार्यलयमा रहदा यस्ता थुप्रै अनियमितता गरेको स्रोतको दाबी छ ।
यस विषयमा हालका आयोजनाका सहयोग समितिका एक सदस्यले अहिले केही यस्ता तथ्य भेटिएको र अनुसन्धानकै क्रममा रहेको बताए । ‘केही तथ्यहरु बाहिर आएका छन् । नियतवस कसैले आयोजनालाई हानी नोक्सानी पुर्याउने कार्य गरेको पाइएमा हामी अनुसन्धानको दायरामा ल्याउनका लागि दवाब दिन्छौं । आयोजनाको सम्पत्तिमा जसको तर्फबाट बदमासी भएको भए पनि अनुचित लाभ लिनेले कारबाहीको भागिदार बन्नुपर्छ भन्ने हाम्रो माग हो,’ नाम उल्लेख नगर्ने शर्तमा एक सदस्यले भने ।
स्रोतका अनुसार पूर्व आयोजना प्रमुख श्रेष्ठले रिप्लटिङ नक्सा विपरीत जग्गा वितरण गरेका थिए। उनी करिब ३ वर्ष जति आयोजना प्रमुख भएका थिए । आयोजना क्रोनिक भएपछि उनी प्राधिकरणकै भक्तपुर जिल्ला आयुक्तमा सरुवा मिलाएर गएका थिए।हाल उनी भक्तपुर जिल्ला आयुक्त कार्यलयमा कार्यरत छन् । प्राधिकरणले अवैध प्लटिङ रोक्ने निर्णय गरे पनि उनले भक्तपुरमा कुनै पनि अवैध प्लटिङ रोकेका छैनन् । अहिले भक्तपुर दले प्लटिङको हब नै बनेको बताइन्छ ।

यस्तै, पूर्व जिल्ला आयुक्त जगदिश लामिछाने आयोजनाकै नाममा रहेको जग्गा किर्ते पत्रमार्फत् बैंकलाई सिफारिस गरेको समेत भेटिएको छ । उनले गिरी श्रेष्ठलाई करिब २ आना जग्गा निःशुल्क भोग चलन गर्न दिनुका साथै आयोजनाकै नाममा रहेको जग्गामा ऋण निकाल्न त्यस समयका शाखा अधिकृत पितराज कोइराला र जगदिश लामिछाने मिलेर सिफारिस दिएको समेत खुलेको छ । पूर्व आयोजना प्रमुखद्वय लामिछाने र श्रेष्ठ दुवै पूर्व विवादित सचिव रमेश सिंहनिकट व्यक्ति हुन्।




प्रतिक्रिया