काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले बागमती प्रदेशसभाका राप्रपा सांसदहरू पदमुक्त नभएको स्पष्ट पारेका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रवक्ता शाहीले पार्टीका तर्फबाट सांसदहरूलाई कारबाही गर्न बागमती प्रदेशसभा सचिवालयमा निवेदन मात्र दर्ता गरिएको तर निवेदन बुझाएकै आधारमा सांसद पद स्वतः समाप्त नहुने दाबी गरेका हुन् ।
प्रवक्ता शाहीका अनुसार प्रदेशसभाका सभामुखबाट औपचारिक निर्णय नभएसम्म वा कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायले पदमुक्त भएको घोषणा नगर्दासम्म सांसदहरू पदमुक्त भएको भनी प्रचारप्रसार गरिनु गलत हो। कारबाहीको प्रक्रिया अघि बढाउनु र पदमुक्त नै हुनु फरक विषय भएको उनको तर्क छ।
पार्टीका जिम्मेवार नेता तथा आधिकारिक व्यक्तिहरूले नै तथ्य र कानुन नबुझी गलत सूचना फैलाइरहेको भन्दै प्रवक्ता शाहीले असन्तुष्टि व्यक्त गरेका छन्। यस्ता गैरजिम्मेवार र असत्य प्रचारले पार्टी संगठनलाई नै कमजोर बनाउने उनको भनाइ छ।
बागमती प्रदेशका सम्बन्धित सांसदहरू जनताबाट निर्वाचित भएर आएकाले उनीहरूको पदको मुख्य आधार नै जनताको मत रहेको उनले उल्लेख गरे। ‘भावनामा बगेर धारणा बनाउनुभन्दा तथ्य र कानुनका आधारमा प्रस्तुत हुन आग्रह गर्दै शाहीले भनेका छन्, ‘गलत सूचना होइन, सत्य कुराको मात्र प्रचार गरौँ।‘




प्रतिक्रिया