इरान युद्धप्रति घटेको जनसमर्थनसँगै राष्ट्रपति ट्रम्पको लोकप्रियता अहिलेसम्मकै कमजोर


वासिङ्टन डिसी । इरानसँगको युद्धप्रति अमेरिकी जनताको समर्थन सुरुवाती दिनयताकै सबैभन्दा तल्लो बिन्दुमा झरेको छ। 

सोमबार सार्वजनिक रोयटर्स/इप्सोसको नयाँ सर्भे अनुसार युद्धप्रतिको घट्दो समर्थनका कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको लोकप्रियता समेत अहिलेसम्मकै न्यून स्तरमा अडिएको छ।

चार दिनसम्म चलाइएको उक्त सर्भे अनुसार इरानविरुद्ध अमेरिकी सैन्य कारबाहीको पक्षमा मात्र ३१ प्रतिशत अमेरिकी उभिएका छन्। यसअघि मार्च महिनामा भएको सर्भेमा ३७ प्रतिशत र यो महिनाको सुरुमा ३४ प्रतिशतले युद्धको समर्थन गरेका थिए। 

विशेषगरी सत्तारूढ रिपब्लिकन पार्टीका समर्थकहरूकै समर्थन घट्नाले यो गिरावट आएको हो। मार्चमा ७७ प्रतिशत रिपब्लिकनले युद्धको समर्थन गरेकोमा अहिले ६९ प्रतिशतमा सीमित भएको छ।

युद्धका कारण यो वर्ष ट्रम्पको जनसमर्थनमा निरन्तर गिरावट आइरहेको छ। लगातार दोस्रो सर्भेमा पनि ३३ प्रतिशत उत्तरदाताले मात्र ह्वाइट हाउसमा उनको कार्यसम्पादनको समर्थन गरेका छन्। ट्रम्पको पहिलो र दोस्रो कार्यकाल समेटिएका रोयटर्स/इप्सोसका सर्भेहरूमध्ये यो लोकप्रियताको सबैभन्दा तल्लो बिन्दु हो।

फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि युद्ध सुरु भएको थियो। तेहरानलाई आणविक हतियार बनाउन नदिनका लागि युद्ध आवश्यक रहेको दाबी ट्रम्पले अमेरिकी जनतासामु गर्दै आएका छन्। पछिल्ला महिनाहरूमा द्वन्द्व केही शान्त भए पनि इरानले त्यस क्षेत्रको तेल निर्यातमा नाकाबन्दी जारी राखेको छ, जसका कारण अमेरिकामा पेट्रोलको मूल्य कीर्तिमानी विन्दु नजिक पुगेको छ।

ट्रम्पले इरानमाथि आर्थिक दबाब अझ बढाउने प्रतिबद्धता जनाएका छन्। त्यसै क्रममा अमेरिकी ट्रेजरी सेक्रेटरी स्कट बेसेन्टले इरानसँग व्यापार गर्ने देशहरूमाथि प्रतिबन्ध विस्तार हुन सक्ने घोषणा गरेका छन्। यद्यपि उनले तत्कालै कुनै कारबाही वा जरिवाना भने तोकेनन्, जसले ट्रम्प प्रशासनका लागि यो द्वन्द्व कति जटिल बन्दै गएको छ भन्ने देखाउँछ।

  • दीर्घकालीन युद्धको त्रास

रोयटर्स/इप्सोसको पछिल्लो सर्भे अनुसार देशका करिब ८३ प्रतिशत जनता यो युद्ध ‘लामो समयसम्म चल्ने’ ठान्छन्। यसअघि ८० प्रतिशतले यस्तो अनुमान गरेका थिए।

ट्रम्पले सन् २०२४ को राष्ट्रपतीय निर्वाचन अघि महँगी नियन्त्रण गर्ने र लामो सैन्य द्वन्द्वमा नअल्झिने बाचा गर्दै प्रचारप्रसार गरेका थिए। इरानसँग युद्ध सुरु भएको छ महिना बितिसक्दा अमेरिकामा पेट्रोलको मूल्य प्रति ग्यालन एक डलरभन्दा बढीले बढेको छ। यसले नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनमा संसद्को साघुरो बहुमत जोगाउने दाउमा रहेका ट्रम्पका रिपब्लिकन सहयोगीहरूलाई चिन्तित बनाएको छ।

आजै संसद्को निर्वाचन भए कसलाई भोट दिनुहुन्छ भन्ने प्रश्नमा सर्भेमा सहभागी स्वतन्त्र मतदाताहरूले रिपब्लिकनको तुलनामा डेमोक्र्याटलाई बढी रोजेका छन्। स्वतन्त्र मतदातामध्ये ३३ प्रतिशतले डेमोक्र्याट र १९ प्रतिशतले मात्र रिपब्लिकनको पक्षमा मत दिएका छन्।

देशभरका १,२१५ जना अमेरिकी वयस्कमाझ गरिएको यो सर्भेमा ३ प्रतिशत विन्दुको त्रुटि सीमा रहेको छ।

रोयटर्स