काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड भएको बताएका छन् । अटोमोबाइल क्षेत्रले मेला ‘नाडा अटो शो २०२६’ को १८औँ संस्करणको मंगलबार उद्घाटन गर्दै उनले अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्डका रूपमा स्थापित भइसकेको बताएका हुन् ।
उपराष्ट्रपति यादवले भने, “नेपालको गतिशीलता, आधुनिकता र आर्थिक रूपान्तरणको एउटा सशक्त मार्गचित्र कोर्न नाडा सफल हुनेछ ।”
उनले जलविद्युतको धनी देश नेपालले पेट्रोलियम पदार्थको आयात घटाई विद्युतीय सवारीसाधनको प्रयोगलाई जोड दिनुपर्ने उल्लेख गरे ।
उपराष्ट्रपति यादवले नेपाल जलस्रोतमा धनी भएको र जलविद्युत् उत्पादनमा वृद्धि भइरहेको अवस्थामा इन्धन आयातमा अर्बौं रुपैयाँ बाहिरिने स्थितिको अन्त्य गर्न विद्युतीय सवारी नै उत्तम विकल्प भएको बताए ।
मुलुकमा उद्यमशीलता सिर्जना गर्न नाडा अटो शो मोबाइलले खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै उनले नेपालमै अटोमोबाइल क्षेत्रको उत्पादन आवश्यक रहेको धारणा राखे ।
नेपाली अटोमोबाइल क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने लक्ष्य नाडाको हुनुपर्नेमा जोड दिए । उपराष्ट्रपति यादवले वातावरणमैत्री र प्रविधिमैत्री नेपाल निर्माणका लागि ‘चार्जिङ स्टेसन’जस्ता पूर्वाधार विस्तारमा सरकार र निजी हातेमालो गरेर अगाडि बढ्न सुझाव दिए ।
उपराष्ट्रपति यादवले अटो शोले नेपाली अटोमोबाइल बजारलाई चलायमान बनाएर आन्तरिक उत्पादन र रोजगारी सिर्जनामा टेवा पुर्याउने विश्वास व्यक्त गरे । रासस




प्रतिक्रिया