रसुवा बाढी: सामाजिक सञ्जालमा अफवाह नफैलाउन लामिछानेको अपिल


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रसुवामा आएको बाढीका कारण उत्पन्न विपद्को घडीमा उद्धार र राहतमा सक्रिय हुन पार्टीका नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।

सभापति लामिछानेले फेसबुकमार्फत एक अपिल गर्दै बाढी तथा विपद्को जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा जान, जोखिमपूर्ण क्षेत्रमा नबस्न र स्थानीय प्रशासन तथा सुरक्षा निकायका निर्देशन पूर्ण रूपमा पालना गर्न अनुरोध गरेका छन् ।

उनले विपद्सम्बन्धी सूचना प्राप्त गर्दा आधिकारिक सरकारी निकाय, स्थानीय प्रशासन, सुरक्षा निकाय तथा विश्वसनीय सञ्चारमाध्यमबाट प्राप्त सूचनालाई मात्र आधार मान्न आग्रह गरेका छन् ।

सभापति लामिछानेले यस संवेदनशील समयमा अप्रमाणित सूचना, हल्ला वा अफवाह सामाजिक सञ्जालमा नफैलाउनसोत अनुरोध गरे । ‘यस संवेदनशील समयमा अप्रमाणित सूचना, हल्ला वा अफवाह सामाजिक सञ्जालमा नफैलाऔँ। एउटा गलत सूचनाले उद्धार तथा राहत कार्यमा थप कठिनाइ सिर्जना गर्न सक्छ र नागरिकमा अनावश्यक त्रास फैलाउन सक्छ,’ उनले भनेका छन् ।