नुवाकोट । तिब्बत हुँदै रसुवा क्षेत्रबाट उग्र रूप लिँदै आएको त्रिशूली नदीको भीषण बाढीले नुवाकोटको त्रिशूली बजार र आसपासका क्षेत्रमा ठूलो विनाश निम्त्याएको छ। बाढीका कारण त्रिशूली बजार आसपासका करिब ६० घरहरू बगेका छन् भने तल्लो तटीय क्षेत्र देवीघाट पूर्णरूपमा प्रभावित बनेको छ।
नदीमा जलस्तर एकाएक बढे पनि पूर्वसूचना प्रणालीका कारण स्थानीय बासिन्दा बेलैमा सुरक्षित स्थानतर्फ सरेकाले हालसम्म कुनै मानवीय क्षति भने हुन पाएको छैन। तथापि भौतिक क्षतिको आयतन निकै ठूलो छ। बाढीको प्रभाव र भौतिक क्षतिको विस्तृत विवरण सङ्कलन गर्ने काम भइरहेको छ।
त्रिशूली नदीमा रहेका दुईवटा रणनीतिक पक्की पुल बाढीले पूर्ण रूपमा बगाएको छ भने त्रिशूली बजारका दर्जनौँ घरहरू नदीको तीव्र बहावले ढालेको छ।
यसबाहेक राष्ट्रिय विद्युत् प्रणालीमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएका त्रिशूली र देवीघाट जलविद्युत् आयोजना बाढीका कारण गम्भीररूपमा क्षतिग्रस्त भएका छन्। बाढीको प्रभाव यतिमा मात्र सीमित रहेन, २५ मेगावाट क्षमताको सौर्य (सोलर) प्लान्टका तीनवटा ब्लक र मुख्य सबस्टेसनसमेत बाढीले बगाएर लगेको छ।
हाल प्रभावित क्षेत्रमा उद्धार टोली तैनाथ गरिएको छ भने क्षति मूल्याङ्कन र जोखिम न्यूनीकरणको प्रयास जारी राखिएको छ।




प्रतिक्रिया