धादिङ । तिब्बततर्फबाट रसुवास्थित भोटेकोशी नदी हुँदै त्रिशूलीमा आएको भीषण बाढीका कारण धादिङका तटीय क्षेत्रहरू उच्च जोखिममा परेका छन्। बाढी मलेखु क्षेत्र पार गर्दै तीव्र गतिमा तल्लो तटीय क्षेत्र कुरिनटार आसपास पुग्न लागेकाले गल्छी, बैरेनी, मलेखुलगायतका नदी किनारका बस्तीहरूमा सन्त्रास फैलिएको छ।
स्थानीय प्रशासनका अनुसार पूर्वसतर्कता र निरन्तरको स्थानान्तरणका कारण हालसम्म मानवीय क्षति भने हुन पाएको छैन। तथापि बाढीको विनाशकारी रूपले भौतिक संरचनामा भने अपूरणीय क्षति पुर्याएको छ। बाढीले नदी क्षेत्रमा रहेका महत्वपूर्ण पक्की तथा झोलुङ्गे पुलहरू बगाएको छ।
जोखिममा रहेका बस्तीका बासिन्दालाई जोगाउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल गरी तीनवटै सुरक्षा निकायका टोलीहरू मैदानमा उतारिएका छन्। प्रभावित क्षेत्रमा अन्य छिमेकी जिल्लाका सुरक्षा टोली र स्थानीय तहका प्रतिनिधिहरू समेत उद्धार, स्थानान्तरण र व्यवस्थापनमा सक्रिय रूपमा खटिएका छन्।
गल्छी, बैरेनी र मलेखुसहित त्रिशूली नदी आसपासका उच्च जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा पुर्याउन सिङ्गो जिल्ला प्रशासनिक र सुरक्षा संयन्त्र खटिएको छ।




प्रतिक्रिया