काठमाडौँ । बुधबार बिहान रसुवा जिल्लामा अचानक आएको भीषण बाढीका कारण जनजीवन प्रभावित भएसँगै दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले बाढी प्रभावित क्षेत्रका लागि आपत्कालीन सञ्चार सुविधा घोषणा गरेको छ। कम्पनीले बाढीबाट प्रभावित क्षेत्रका सर्वसाधारणलाई लक्षित गर्दै आगामी तीन दिनका लागि भ्वाइस र डेटा सेवा पूर्णरूपमा निःशुल्क उपलब्ध गराउने जनाएको छ।
यसका साथै प्रभावित क्षेत्रका नागरिकलाई एक-आपसमा सहज सम्पर्कमा रहन मद्दत पुर्याउने उद्देश्यले तीन दिनको समयावधि रहने गरी १०० वटा एसएमएस पनि निःशुल्क उपलब्ध गराइने भएको छ। विपद्को समयमा सञ्चार सेवा निरन्तर चालू रहनु अत्यन्त महत्त्वपूर्ण हुने भएकाले यो पहलले प्रभावितहरूलाई आफ्ना परिवार तथा उद्धार टोलीसँग निरन्तर सम्पर्कमा रहन ठूलो सहयोग पुग्ने विश्वास लिइएको छ।
आपत्कालीन अवस्थामा सञ्चार पहुँच सुनिश्चित गर्नु आफ्नो प्राथमिकता रहेको जनाउँदै एनसेलले विपद्का बेला विगतदेखि नै यस्तै सक्रिय भूमिका खेल्दै आएको स्मरण गराएको छ। प्राकृतिक विपद्को घडीमा खोज, उद्धार तथा राहत वितरणका कामलाई थप प्रभावकारी बनाउन सञ्चार सुविधाले निर्णायक भूमिका खेल्ने कम्पनीको भनाइ छ।




प्रतिक्रिया