बाढीको महाविपत्ति: १६५ जनाको शव फेला, ८२६ अझै बेपत्ता


काठमाडौ । रसुवामा आएको भीषण बाढी तथा देशका विभिन्न स्थानमा भएको विपद्बाट बेपत्ता भएकामध्ये बिहीबार बिहानसम्म १६५ जनाको शव फेला परेको छ ।

अझै ८२६ जना सम्पर्कविहीन तथा बेपत्ता रहेको गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार बेपत्ता हुनेमा ८५ जना सुरक्षाकर्मी छन् । तीमध्ये नेपाली सेनाका ४४, नेपाल प्रहरीका २८ र सशस्त्र प्रहरी बलका १३ जना रहेका छन् ।

अन्य बेपत्तामध्ये रसुवाका १६१ र नुवाकोटका एक जना रहेका छन् । यस्तै, ५७९ जना पर्यटक पनि सम्पर्कविहीन रहेको मन्त्रालयले जनाएको छ । सम्पर्कविहीन पर्यटकमध्ये ११३ नेपाली र ४६६ विदेशी नागरिक छन् ।

विपदमा परेका १०४ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये रसुवाका ४३, नुवाकोटका ५८ र धादिङका तीन जना छन् । फेला परेका १६५ शवमध्ये धादिङमा २७, नुवाकोटमा १२, रसुवामा दुई, गोरखामा २०, नवलपरासी पूर्वमा २६, तनहुँमा नौ र चितवनको नारायणी नदी आसपासमा ६४ शव रहेका छन् ।

नवलपरासी पश्चिममा पाँच जनाको शव फेला परेको केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख फडेन्द्रप्रसाद पौडेलका अनुसार फेला परेका केही शवको अवस्था पहिचान गर्न कठिन हुने गरी क्षतविक्षत रहेको छ ।

विपद्को अवस्था गम्भीर रहेकाले खोजी तथा उद्धार कार्य जारी रहेको मन्त्रालयले जनाएको छ । घटनासम्बन्धी तथ्यांकमा भ्रम फैलिन सक्ने भन्दै राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले आधिकारिक निकायबाट जारी सूचनालाई मात्र आधार मान्न सर्वसाधारणलाई आग्रह गरेको छ ।