काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले विपद् व्यवस्थापनलाई दीर्घकालीन रूपमा राष्ट्रिय प्राथमिकताको विषय बनाउनुपर्ने बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आह्वानमा बिहीबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा थापाले सुरुवाती केही दिन विपद्सम्बन्धी समाचार र विषयले प्राथमिकता पाए पनि केही समयपछि ओझेलमा पर्न सक्ने भन्दै यसलाई दीर्घकालीन राष्ट्रिय प्राथमिकताको विषय बनाउनुपर्ने बताएका हुन्।
थापाले नेपालले जलवायु परिवर्तन तथा हिमताल विस्फोट र हिमाली क्षेत्रबाट उत्पन्न हुने विपद्का जोखिमलाई लामो समयदेखि पर्याप्त गम्भीरताका साथ नलिएको उल्लेख गरे। आगामी दिनमा यस्ता विपद्को जोखिम न्यूनीकरण तथा पूर्वतयारीलाई राज्यले प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो।
त्यस्तै, विपद्का समयमा राहत तथा सहयोगका लागि राजनीतिक दलहरूलाई आ–आफ्ना प्रभावकारी संयन्त्रमार्फत सहयोग रकम संकलन गर्न अनुमति दिनुपर्ने प्रस्तावसमेत थापाले राखेका छन्।
बुधबार रसुवाको भोटेकोसी क्षेत्रमा आएको आकस्मिक बाढीले ठूलो जनधन तथा भौतिक क्षति पुर्याएपछि रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गरेका थिए। बैठकमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले विपद् व्यवस्थापन, उद्धार, राहत तथा पुनःस्थापनाका विषयमा आ–आफ्ना धारणा राखेका थिए।




प्रतिक्रिया