काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि एनसेलले १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।
एनसेलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने जनाएको हो ।
बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लाका नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको अवस्थामा प्रभावित नागरिकको तत्काल उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारको आह्वानमा सहयोग घोषणा गरिएको कम्पनीले जनाएको छ ।
बाढीमा ज्यान गुमाएकाहरूप्रति एनसेलले श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । साथै, बेपत्ता तथा प्रभावित नागरिकको शीघ्र उद्धार र राहत व्यवस्थापनको कामना गरेको छ ।
एनसेलले विपद्को समयमा सञ्चार सेवामार्फत पनि प्रभावित समुदायलाई सहयोग गरिरहेको जनाएको छ । बाढी प्रभावित क्षेत्रमा रहेका एनसेलका ग्राहकलाई बुधबारदेखि लागू हुने गरी तीन दिनसम्म भ्वाइस तथा डेटा सेवा र १०० वटा एसएमएस निःशुल्क उपलब्ध गराइएको कम्पनीले जनाएको छ ।
यसबाट प्रभावित नागरिकलाई परिवार, आफन्त तथा उद्धार र राहतमा खटिएका टोलीसँग सहज रूपमा सम्पर्कमा रहन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
एनसेलकी कर्पोरेट कम्युनिकेसन, मार्केटिङ तथा सस्टेनेबिलिटी डाइरेक्टर विशाखा लक्ष्मी खड्काले विपद्को कठिन घडीमा प्रभावित नागरिकको साथमा उभिनु सबैको साझा जिम्मेवारी भएको बताइन् ।
उद्धार, राहत र पुनःस्थापनाका प्रयासमा सरकार तथा सम्बन्धित निकायलाई सहयोग पुर्याउने उद्देश्यले १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरिएको उनले बताइन् । प्रभावित परिवार तथा समुदायसँग एनसेल साथमा रहेको उनको भनाइ छ ।
एनसेलले यसअघि पनि विभिन्न प्राकृतिक विपद्का समयमा उद्धार, राहत तथा पुनःस्थापनाका प्रयासमा सहयोग गर्दै आएको जनाएको छ । आगामी दिनमा प्रभावित समुदायको आवश्यकता र अवस्थालाई ध्यानमा राख्दै सम्भव सहयोग तथा सहकार्यलाई निरन्तरता दिने कम्पनीले प्रतिबद्धता जनाएको छ ।




प्रतिक्रिया