नारायणगढ (चितवन), ११ भदौ । त्रिशूली तथा नारायणी नदीमा बगेर आएका शवको खोजी, पहिचान तथा व्यवस्थापनका लागि चितवनमा आवश्यक तयारी गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको आकस्मिक बैठकले शव सुरक्षित राख्ने, खोजतलास गर्ने, पहिचान गर्ने तथा सम्बन्धित परिवारलाई बुझाउनेलगायत विषयमा विभिन्न निर्णय गरेको छ ।
चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले भरतपुर महानगरपालिका–१० स्थित चितवन उद्योग परिसरमा रहेको औद्योगिक व्यवसाय विकास प्रतिष्ठानको पुरानो भवनलाई शव संरक्षण स्थलका रूपमा प्रयोग गरिने जानकारी दिए ।
अर्यालले भने, “यहाँका अस्पतालमा पनि शव आउने र अस्पतालमा पर्याप्त स्थान नभएकोले व्यवस्थापनका लागि यो स्थान तय गरिएको हो ”
उनले भोटेकोशी नदीबाट बगेर आएका शव चितवनमा आउनसक्ने भएकाले खोज तथा उद्धार टोलीलाई परिचालन गरिएको बताए । उनले हालसम्म ७३ शव भेटिएको जानकारी दिए ।
विभत्स दृश्यका तस्बिर राखेर समाजलाई आतङ्कित बनाउने काम नगरिदिनुहुन आग्रह समेत उहाँले आग्रह गर्नुभयो ।
शव सुरक्षित राख्न आवश्यक बरफलगायत सामग्रीको व्यवस्था चितवन उद्योग वाणिज्य सङ्घ र रत्ननगर उद्योग वाणिज्य सङ्घले उपलब्ध गराउने छन् ।
यस्तै, प्रतिष्ठानको भवन अगाडि टेन्ट राखेर ‘विपद् सहायता कक्ष’ सञ्चालन गरिनेछ । उक्त कक्षमार्फत बेपत्ता व्यक्तिको खोजी, शव पहिचान तथा आफन्तलाई शव बुझाउने कार्यमा सूचना समन्वय गरिनेछ ।
शव खोजतलासका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र भरतपुर महानगर प्रहरीलाई संयुक्त रूपमा परिचालन गरिने प्रमुख जिल्ला अधिकारी अर्यालले बताए ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार नदीबाट शव निकाल्नेबित्तिकै पहिचान प्रक्रियालाई सहज बनाउन शवको समग्र तथा नजिकबाट स्पष्ट देखिने तस्बिर खिचिनेछ । आवश्यक परे तस्बिरलाई स्पष्ट बनाएर शवलाई ट्यागसहित ‘डेड बडी ब्याग’ मा राखिनेछ । त्यसपछि शवलाई तोकिएको संरक्षण स्थलमा शून्य डिग्री तापक्रमको एसीमा राख्ने व्यवस्था गरिएको छ ।
शवको पहिचान नभएका अवस्थामा बेपत्ता व्यक्तिका आफन्तलाई भेटिएका शवका तस्बिर देखाएर पहिचान गर्न सहयोग गरिने एसपी पौडेलले बताए ।
आफन्तले शरीरमा रहेका ट्याटु, अन्य चिनो, कपडा तथा शवबाट देखिने पहिचानका आधारमा पहिचान गर्न सक्ने उनले बताए ।
पहिचानका आधारमा शव बुझ्न आउने व्यक्तिको आधिकारिकता परिचयपत्रलगायत कागजातबाट यकीन गरिने र आधिकारिक आफन्त भएको पुष्टि भएपछि समितिका माध्यमबाट कानुनी प्रक्रिया पूरा गरी शव जिम्मा लगाउने व्यवस्था मिलाइएको उहाँले जानकारी दिए ।
यसैगरी, बाहिरी जिल्लाबाट आफन्तको खोजी तथा शव पहिचानका लागि चितवन आउने व्यक्तिका लागि होटल सङ्घको समन्वयमा निःशुल्क खाना तथा आवासको व्यवस्था मिलाइएको छ ।
बैठकले शवगृह व्यवस्थापनको जिम्मेवारी भरतपुर महानगरपालिकालाई, शव पहिचान तथा हस्तान्तरणको जिम्मेवारी प्रहरी नायब उपरीक्षक सुवास भट्टलाई दिएको छ ।
खाजा तथा पानीको व्यवस्था रत्ननगर उद्योग वाणिज्य सङ्घ र सपना भिलेज तथा डेड बडी ब्यागको व्यवस्था नेपाल रेडक्रस सोसाइटी चितवनले गर्नेछ । स्वास्थ्य सामग्री मास्क, स्यानिटाइजर र पञ्जाको व्यवस्था सर्जिकल व्यवसायी सङ्घले गर्ने निर्णय भएको छ ।
बाढी तथा विपद्का कारण राष्ट्रिय दुःखको अवस्था रहेकाले यस वर्षको हरितालिका तीज पर्व भड्किलो नगरी सादगीपूर्ण रूपमा मनाउन सर्वसाधारणलाई अपिल गरिएको छ ।
साथै, बाढीले बगाएर ल्याएका ग्यास सिलिन्डरलगायत सरकारी वा व्यक्तिगत सामग्री फेला परेमा नजिकको सुरक्षा निकायमा बुझाउन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए ।




प्रतिक्रिया