काठमाडौँ । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको भीषण आकस्मिक बाढी–पहिरोबाट प्रभावित नागरिकहरूको उद्धार, राहत एवं पुनर्स्थापनाका लागि एक्स्ट्रिम इनर्जी ड्रिंक्सले रु. १ करोड सहयोगको घोषणा गरेको छ।
कम्पनीले प्राकृतिक विपद्को यस कठिन समयमा प्रभावित परिवार तथा नागरिकहरूको पीडा न्यूनीकरण गर्न र राहत तथा पुनर्स्थापना कार्यमा सरकारसँग ऐक्यबद्धता जनाउँदै प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा उक्त रकम योगदान गर्ने निर्णय गरेको हो। विपद्का कारण ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै कम्पनीले शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ।
साथै, बाढी–पहिरोका क्रममा घाइते भएका नागरिकहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरिएको छ। आफ्नो ज्यानको जोखिम मोलेर विपद्को अग्रपंक्तिमा खटिई उद्धार तथा राहत कार्यमा निरन्तर योगदान पुर्याइरहेका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, स्वयंसेवक, स्थानीय समुदाय तथा सरकारी एवं गैरसरकारी निकायहरूको समर्पणको कम्पनीले उच्च सम्मान व्यक्त गरेको छ।
व्यावसायिक सामाजिक उत्तरदायित्वलाई आफ्नो मुख्य प्राथमिकताका रूपमा आत्मसात् गर्दै आएको एक्स्ट्रिम इनर्जी ड्रिंक्सले राष्ट्रमा आइपर्ने हरेक कठिन तथा संकटपूर्ण परिस्थितिमा नागरिक र समुदायको साथमा उभिँदै आएको जनाएको छ। आगामी दिनहरूमा पनि देश र नागरिकको हितमा आवश्यक सहयोग तथा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता कम्पनीले व्यक्त गरेको छ।




प्रतिक्रिया