भोटेकोसी बाढीपीडितका लागि राहत जुटाउँदै ऋषि धमला


काठमाडौँ । रसुवाको भोटेकोसीमा बुधबार बिहान आएको भीषण बाढीबाट प्रभावित नागरिकका लागि राहत जुटाउन वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमला सक्रिय भएका छन्। बाढीले रसुवा, नुवाकोट,गोरखा ,धादिङ र चितवन लगायतका जिल्लामा ठूलो क्षति पुर्‍याएपछि उद्धार तथा राहत अभियान तीव्र पारिएको हो । नेपाली सेनासहित सुरक्षा निकायले प्रभावित क्षेत्रमा उद्धार कार्य जारी राखेका छन्।

धमला बिहीबार माइतीघरमा पुगेर बाढीपीडितका लागि राहत सामग्री संकलन अभियानमा जुटेका हुन्। सहयोग गर्न चाहने नागरिकहरूले माइतीघरमा ल्याएका खाद्यान्न, लत्ताकपडालगायतका सामग्री संकलन गरिएको छ।

नागरिकहरुले दाल, चामल, चिउरा, लत्ताकपडा, ओढ्ने–ओछ्याउनेलगायतका अत्यावश्यक सामग्री सहयोग गरेका छन्। संकलित सम्पूर्ण सामग्री बाढी प्रभावितसम्म पुर्‍याउन नेपाली सेनालाई हस्तान्तरण गर्ने धमलाले बताए ।

धमलाले विपत्तिको यो घडीमा सबै नेपाली एकताबद्ध भएर सहयोगमा जुट्नुपर्नेमा जोड दिए । उनले स्वदेश तथा विदेशमा रहेका नेपालीहरूले बाढीपीडितका लागि गरिरहेको सहयोगको प्रशंसा गरे ।

‘अहिले राजनीति गर्ने समय होइन, विपत्तिमा परेका नेपालीको जीवन बचाउने र उनीहरूलाई राहत दिने समय हो। सबै नेपाली एकजुट भएर उद्धार, राहत र पुनःस्थापनामा लाग्नुपर्छ,’ धमलाले भने।

बाढीपछि नेपाली सेनाले हेलिकोप्टरसहित ठूलो संख्यामा जनशक्ति परिचालन गरेर उद्धार गरिरहेको छ। बिहीबारसम्म सेनाले हवाई तथा स्थलमार्गबाट ठूलो संख्यामा प्रभावितको उद्धार गरेको जनाएको छ।