भोटेकोशी बाढीपछि सम्पर्कविहिन इन्जिनियर परिवारको सम्पर्कमा


काठमाडौं, भदौ ११ । लमही नगरपालिका–४, गुर्जीहवाका डिल्लीबहादुर चौधरी भोटेकोशी नदीमा आएको भीषण बाढीपछि परिवारको सम्पर्कमा आएका छन्। अपर त्रिशूली हाइड्रोपावरमा इन्जिनियरका रूपमा कार्यरत चौधरी बाढी आएपछि केही समय परिवारसँग सम्पर्कविहीन भएका थिए। पछि उनी शरीरभरि हिलो लागेको अवस्थामा सकुशल भेटिएर परिवारको सम्पर्कमा आएका हुन्। सार्वजनिक भएको तस्बिरमा चौधरीको अनुहार, कपाल र कपडाभरि बाक्लो हिलो जमेको देखिन्छ।

बाढीको तीव्र बहाव र हिलोको बीचबाट बाहिर निस्किएपछि उनी सकुशल रहेको खबरले परिवार र आफन्तमा राहत मिलेको छ। भोटेकोशीमा आएको बाढीले रसुवा लगायत तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। नेपाल प्रहरीले प्रभावित क्षेत्रमा खोजी तथा उद्धारका लागि विभिन्न टोली परिचालन गरेको जनाएको छ।