परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्रीबिच टेलिफोन वार्ता


काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले अमेरिकी राजनीतिक मामिला उपविदेशमन्त्री एलिसन हुकरसँग बिहीबार टेलिफोन वार्ता गरेका छन् ।

वार्ताका क्रममा उपविदेशमन्त्री हुकरले बुधबार आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति अमेरिकी सरकारका तर्फबाट गहिरो दुःख तथा समवेदना व्यक्त गरिन् ।

रसुवा, नुवाकोटलगायत क्षेत्रमा आएको विनाशकारी बाढीबाट बुधबार ठूलो जनधनको क्षति भएपछि प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्य जारी रहेका बेला उक्त टेलिफोन वार्ता भएको हो ।

उपविदेशमन्त्री हुकरले विपद्को यस कठिन घडीमा नेपाललाई परिस्थितिसँग जुध्न सहयोग गर्ने अमेरिकी सरकारको प्रतिबद्धता व्यक्त गर्दै नेपाल र नेपाली जनताप्रति ऐक्यबद्धता जनाइन् ।

उपविदेशमन्त्री हुकरले बाढीबाट प्रभावित नागरिकको खोज तथा उद्धारका लागि सरकारले सञ्चालन गरिरहेको अभियानबारे जानकारी लिनुका साथै बेपत्ता अमेरिकी नागरिकको खोजी तथा उद्धारको अवस्थाबारे समेत चासो राखिन् ।

सो अवसरमा परराष्ट्रमन्त्री खनालले नेपाल सरकारले प्रभावित नागरिकको खोज तथा उद्धारका लागि सञ्चालन गरिरहेको कार्यबारे जानकारी गराए ।

परराष्ट्रमन्त्री खनालले कठिन परिस्थितिमा नेपाललाई सहयोग गर्ने अमेरिकी सरकारको तत्परताप्रति धन्यवाद व्यक्त गरेका छन् ।