बेइजिङ, १२ भदौ । संयुक्त राज्य अमेरिकाले इरानको अर्थतन्त्रलाई थप दबाबमा पार्ने तयारी गरे पनि चीनको सहयोगबिना तेहरानलाई प्रभावकारी रूपमा आर्थिक रूपमा अलग गर्न कठिन हुने विश्लेषकहरूले बताएका छन् ।
मध्यपूर्वमा युद्ध सुरु भएको करिब छ महिनापछि वासिङ्टनले इरानविरुद्ध प्रतिबन्ध विस्तार गर्ने तयारी गरेको छ । अमेरिकी अधिकारीहरूले इरानलाई सहयोग गर्ने राष्ट्र तथा संस्थामाथि समेत कारबाही गर्ने चेतावनी दिएका छन् । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले चीनलाई अमेरिकी अभियानमा सहकार्य गर्न आग्रह गरेको छ ।
तर चीनले तेहरानसँगको आफ्नो सहयोगको बचाउ गर्दै आफ्ना आर्थिक तथा रणनीतिक हितको रक्षा गर्ने स्पष्ट पारेको छ । आगामी सेप्टेम्बरमा चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राजधानीको भ्रमण गर्ने तयारी भइरहेका बेला इरानको विषयले चीन–अमेरिका सम्बन्धमा थप तनाव उत्पन्न गर्न सक्ने देखिएको छ ।
सिङ्गापुरस्थित नानयाङ टेक्नोलोजिकल युनिभर्सिटीका राजनीतिक वैज्ञानिक डिलन लोहका अनुसार इरानलाई पूर्ण रूपमा आर्थिक रूपमा अलग गर्न अमेरिकालाई चीनको सहयोग आवश्यक पर्नेछ । चीन इरानी तेलको प्रमुख खरिदकर्ता हो र दुई देशबीचको व्यापारको ठूलो हिस्सा चिनियाँ मुद्रा रेन्मिन्बीमा हुने भएकाले अमेरिकी प्रतिबन्धको प्रभाव सीमित गर्न सकिन्छ ।
युद्धअघि इरानले दैनिक लाखौँ ब्यारेल तेल निर्यात गर्ने गरेकोमा ठूलो हिस्सा चीन पुग्ने गरेको थियो । वासिङ्टनस्थित सेन्टर फर युरोपियन पोलिसी एनालिसिसका फेलो निनो लेजावाका अनुसार तेल इरानको प्रमुख आर्थिक आधार हो । चिनियाँ तेल खरिद घटे पनि त्यसबाट प्राप्त आम्दानी इरानका लागि महत्त्वपूर्ण रहेको फुदान विश्वविद्यालयका प्राध्यापक सन देगाङले बताए ।
चीनले इरानसँग व्यापार र वैकल्पिक भुक्तानी प्रणाली कायम राखिरहे मात्र पनि अमेरिकी प्रतिबन्धको प्रभाव कमजोर पार्न सकिने लेजावाको भनाइ छ । अमेरिकाले इरानसँग कारोबार गर्ने चिनियाँ बैंकमाथि समेत प्रतिबन्ध लगाउन सक्ने सङ्केत दिएको छ । यसै साता इरानलाई ‘महत्त्वपूर्ण प्रविधि’ उपलब्ध गराउन सहयोग गरेको आरोपमा केही चिनियाँ संस्थामाथि प्रतिबन्ध लगाइए पनि प्रमुख चिनियाँ वित्तीय संस्थामाथि भने व्यापक कारबाही गरिएको छैन ।
प्राध्यापक सनले चिनियाँ कम्पनीमाथि निरन्तर प्रतिबन्ध लगाएर अमेरिकाले बेइजिङबाट इरानविरुद्ध सहयोगको अपेक्षा गर्न नसक्ने बताए । चीनको विदेश मन्त्रालयले पनि इरानसँगको सहयोग अन्तर्राष्ट्रिय कानूनको दायराभित्र रहेको र त्यसमा बाह्य हस्तक्षेप स्वीकार्य नहुने स्पष्ट पारेको छ ।
हर्मुज जलघाँटीको अवरोधबाट चीनले समेत आर्थिक असर भोगिरहेको छ । कमजोर घरेलु उपभोगका कारण आर्थिक दबाबमा रहेको चीनले इरानसँगको व्यापार पूर्ण रूपमा रोक्दा थप समस्या निम्तिन सक्ने विश्लेषकहरूको भनाइ छ । सिङ्गापुरस्थित नेसनल युनिभर्सिटीका सहयोगी प्राध्यापक चोङ जा इयानका अनुसार अमेरिकी प्रतिबन्ध कार्यान्वयनमा सहयोग गर्न चीनसँग खासै कारण छैन ।
जापानस्थित सोका विश्वविद्यालयका प्राध्यापक तथा पूर्वी एसिया विज्ञ लिम ताई वेईका अनुसार इरानविरुद्ध प्रभावकारी विश्वव्यापी अभियान सञ्चालन गर्न वासिङ्टनले चीनलाई सहभागी गराउन पर्याप्त प्रोत्साहन दिनुपर्ने हुन सक्छ । फेलो लेजावाका अनुसार इरानलाई सहयोग गर्दा हुने रणनीतिक तथा आर्थिक लाभभन्दा त्यसको लागत उल्लेखनीय रूपमा बढी भएमा मात्र चीन अमेरिकी अभियानमा सहभागी हुने सम्भावना छ । रासस




प्रतिक्रिया