बाढीपीडितको अवस्था बुझ्न धादिङ पुगे ऋषि धमला, राहतकाे व्यवस्था गर्ने प्रतिवद्धता


धादिङ । रसुवाको भोटेकोसीमा आएको भीषण बाढीबाट प्रभावित धादिङका विभिन्न क्षेत्रको अवस्था बुझ्न वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमला आफ्नो गृहजिल्ला धादिङ पुगेका छन्। धमलाले बाढी प्रभावित स्थानीयसँग प्रत्यक्ष भेटेर उनीहरूको अवस्था र समस्याबारे जानकारी लिएका बताइएकाे छ ।

स्थानीयले बाढीका कारण घरबार गुमेपछि सुरक्षित स्थानको अभावमा पाखा, भित्तालगायतका ठाउँमा आश्रय लिएर बस्नुपरेको तथा तत्काल खानेकुरा र बसोबासको समस्या रहेको गुनासो उनीसँग गरेका छन् । बाढीले घर बगाएपछि कतिपय परिवारको दैनिकी नै प्रभावित भएको भन्दै धमलाले सरकारलाई तत्काल राहतकाे व्यवस्था गर्न आग्रह गरे । पीडितलाई खाद्यान्न, खानेपानी, लत्ताकपडा, त्रिपाल तथा आवश्यक स्वास्थ्य सामग्री तत्काल उपलब्ध गराउनुपर्ने उनको भनाइ छ।


‘धादिङका बाढीपीडितको अवस्था अत्यन्तै गम्भीर छ। कतिपयको घर छैन, खानेकुरा छैन, बस्ने ठाउँ छैन,’ भावुक हुँदै धमलाले भने।
उनले केन्द्र सरकार तथा स्थानीय तहले राहत वितरणमा धादिङलाई ध्यान नदिएकाे बताए । धमलाले विपत्तिको समयमा राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर उद्धार, राहत र पुनःस्थापनामा सबै पक्ष एकजुट हुनुपर्नेमा जाेड दिएका छन् ।


स्थानीयले आफूहरूलाई तत्काल राहत आवश्यक रहेको बताएपछि राहतकाे लागि चिन्ता नगर्न र आफूले सक्दाे सहयाेग गर्ने प्रतिवद्धता जनाए । घरमा बस्न सक्ने अवस्था नरहेका परिवारका लागि सुरक्षित अस्थायी आवासको व्यवस्था गर्नुपर्ने पीडितहरूको माग छ।