‘पार्टीगत राजनीतिभन्दा माथि उठेर यो विपत्तिमा सबै नेपाली एकजुट भएर लाग्नुपर्छ : राधे भण्डारी


धादिङ । बुधबार बिहान रसुवाको भोटेकोसीमा आएको भीषण बाढीले धादिङको पनि विभिन्न क्षेत्रमा क्षति पुर्याएको छ । बाढीका कारण धादिङका केही स्थानका नागरिकप्रभावित भएका छन् ।

अकस्मात आएको बाढीले धेरै धनजनको क्षति गरेपछि नेपाली कांग्रेस धादिङका युवा नेता राधे भण्डारी पनि उद्वार तथा वेपत्ताको खोजीमा सक्रिय भएका छन् । बाढीले विभिन्न स्थानका सडक, पुल तथा भौतिक संरचनामा क्षति पुर्याएको छ भने धेरैको घर नै बगाएको छ ।

घर तथा अन्य संरचना क्षति भएका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न आफू लगायतका युवा समुह परिचालित भएको उनले बताए । ‘अहिले सबैभन्दा महत्वपूर्ण कुरा नागरिकको ज्यान जोगाउनु हो। यो बेला पार्टीगत राजनीति भन्दा माथि उठेर सबै नेपाली एकजुट भएर लाग्नुपर्छ ,’ उनले भने।

युवा नेता भण्डारीले बाढीपीडितलाई तत्काल आवश्यक पर्ने खाद्यान्न, खानेपानी, लत्ताकपडा तथा अस्थायी बसोबासको व्यवस्था गर्न सरकारलाई माग गरेका छन् ।

स्थानीय तह, प्रदेश र केन्द्र सरकारबीच प्रभावकारी समन्वय गरेर उद्धार तथा राहत अभियान अघि बढाउनुपर्ने उनको भनाइ छ ।