बाढी प्रभावित क्षेत्रमा कांग्रेस नेता धमलासहितको टोलीद्वारा स्थलगत अनुगमन, गल्छीमा राहत वितरण


धादिङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश धमला, नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष मनिष कोइराला र धादिङ तरुण दलका जिल्ला अध्यक्ष शंकर धमलालगायतको टोलीले नुवाकोटको तारुकादेखि धादिङको गल्छीसम्म बाढी तथा पहिरो प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेका छन् ।

अनुगमनका क्रममा बाढी तथा पहिरोबाट भएको जनधन र भौतिक क्षतिको विवरण संकलन गर्नुका साथै अवरुद्ध पृथ्वीराजमार्ग यथाशीघ्र सञ्चालनमा ल्याउन भइरहेको प्रयासबारे टोलीले जानकारी लिएका छन् ।

त्यसपछि गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडा, वडा नम्बर ६ का अध्यक्ष दीपक कार्कीलगायत स्थानीय जनप्रतिनिधि तथा सम्बन्धित टोलीसँग प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरिएको थियो।

अनुगमनपछि विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने, उद्धार तथा पुनःस्थापनालाई प्रभावकारी बनाउने र आवश्यकताका आधारमा योजनाबद्ध रूपमा थप सहयोग अघि बढाउने बताइएको छ।

सोहीक्रममा नेपाल तरुण दलका अध्यक्ष मनिष कोइरालाको उपस्थितिमा धादिङको गल्छी गाउँपालिकाका बाढीपीडित नागरिकलाई पाल तथा खाद्यान्नसमेत वितरण गरिएको छ।

टोलीले विपद्बाट प्रभावित नागरिकको दुःखमा साथ दिँदै राहत, उद्धार तथा पुनःनिर्माणका कामलाई सबै पक्षको सहकार्य र समन्वयमा प्राथमिकताका साथ अघि बढाउने जनाएको छ।