भोटेकोशीमा पानीको बहाव बढ्यो: तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह


काठमाडौं, भदौ १४ । भोटेकोशी नदीमा बाढीको बहाव एक्कासि बढेको आवाज सुनिएको भन्दै सम्भावित जोखिमलाई मध्यनजर गरी रसुवा, नुवाकोट तथा धादिङका नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ।

जिल्ला प्रहरी कार्यालय रसुवाबाट प्राप्त प्रारम्भिक सूचनाका आधारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज बिहान ४:३१ बजे उक्त सतर्कता सूचना जारी गरेको हो।

महाशाखाका अनुसार नदीमा जलसतह बढ्न सक्ने सम्भावना रहेकाले तीनवटै जिल्लाका नदी किनार तथा आसपासका बासिन्दालाई सुरक्षित स्थानमा रहन र आवश्यक सावधानी अपनाउन अपिल गरिएको छ।

घटनाको थप पुष्टि तथा स्थलगत वस्तुस्थितिबारे जानकारी लिने कार्य भइरहेको र विवरण आउनासाथ थप सूचना अद्यावधिक गर्दै जाने महाशाखाले जनाएको छ।