विपत्तिको समयमा कांग्रेसले सरकारलाई पूर्ण सहयोग गर्छ : गगन थापा


काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले मुलुकमा आएको प्राकृतिक विपत्तिको समयमा सरकारलाई पार्टीको तर्फबाट पूर्ण सहयोग गर्ने बताएका छन् । आज पार्टी कार्यालयमा आयोजित विपद् व्यवस्थापनसम्बन्धी बैठकमा बोल्दै सभापति थापाले संकटको समयमा सरकारले नै नेतृत्व गर्नुपर्ने र कांग्रेसले त्यसलाई केन्द्रमा राखेर मद्दत गर्ने बताए ।

थापाले राहत र उद्धार कार्यमा देखिएका कमजोरी औँल्याउनु पनि पार्टीको जिम्मेवारी भएको बताउँदै भने, ‘कहाँ ग्याप छ, कहाँ काम हुन सकेको छैन भनेर औँल्याउनु आलोचना होइन, सरकारलाई सहयोग पुर्‍याउनु हो ।’

बैठकमा थापाले कांग्रेसका केन्द्रीय सदस्यहरू, सांसदहरू र देशभरका निर्वाचित जनप्रतिनिधिहरूलाई स्वेच्छिक रूपमा प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गर्न आह्वान गरे ।

विशेष गरी सुरुङ तथा जटिल भौगोलिक क्षेत्रमा फसेकाहरूको उद्धारका लागि नेपालसँग पर्याप्त विज्ञता नभएको खण्डमा बाहिरबाट मद्दत लिन संकोच मान्न नहुने उनले बताए । यस विषयमा आफूले परराष्ट्रमन्त्रीसँग पनि कुरा गरिसकेको उनले जानकारी दिए ।

थापाले भोलि आफैँ बाढी–पहिरो प्रभावित क्षेत्रको भ्रमण गरी स्थलगत अवस्था बुझ्ने र थप राहतका लागि पहल गर्ने समेत बताए ।