काठमाडौँ, १४ भदौ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा जारी उद्धार तथा राहत कार्यमा नेपाललाई छिमेकी भारत र चीनसहित अन्तरराष्ट्रिय समुदायले सहयोग गरिरहेका छन् ।
बाढीबाट जनधनको ठूलो क्षति भएपछि प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि भारत र चीनले सुरुआती दिनदेखि नै राहत सामग्री, सुरुङ उद्धार टोली तथा प्राविधिक जनशक्ति उपलब्ध गराएका छन् भने विभिन्न अन्तरराष्ट्रिय संस्थाले आर्थिक तथा प्राविधिक सहयोगको प्रतिबद्धता जनाएका छन् ।
बाढीबाट तल्लो तटीय क्षेत्रमा रहेका आवासीय क्षेत्र, सडक, पुल तथा अन्य पूर्वाधारमा व्यापक क्षति पुगेको छ । प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसहित राज्यका विभिन्न निकाय उद्धार तथा राहत कार्यमा परिचालित छन् ।
भारतबाट ११ टन राहत सामग्री बोकेको चौथो चरणको उडान आज बिहान काठमाडौँमा अवतरण गरेको छ । राहत सामग्रीमा खोज तथा उद्धारका लागि आवश्यक उपकरणसहितको सुरुङ उद्धार प्राविधिक टोली, डीएनए विश्लेषणका लागि फरेन्सिक विज्ञहरूको टोली तथा कम्बल, स्लीपिङ ब्याग, त्रिपाल, प्लास्टिक सिट र सरसफाइ किटलगायत सामग्री समावेश रहेको यहाँस्थित भारतीय दूतावासले जनाएको छ ।
स्थलगत निरीक्षण टोलीको मूल्याङ्कनका आधारमा विशेष उपकरणसहित १३ सदस्यीय भारतीय सेनाको सुरुङ उद्धार टोली नेपाल आएको हो । उक्त टोलीले नेपाली विपद् प्रतिकार्य टोलीले सञ्चालन गरिरहेको खोज तथा उद्धार कार्यमा सहयोग गर्नेछ । मृतकका अवशेषको पहिचानका लागि डीएनए नमुना विश्लेषणमा सहयोग गर्न छ वटा फरेन्सिक टोलीका १९ सदस्यीय समूह पनि नेपाल आएको दूतावासले जनाएको छ ।
यसअघि भारतले शनिबारसम्म भारतीय वायुसेनाका विमानमार्फत नेपालमा करिब ५७ दशमलव ५ टन राहत सामग्री ढुवानी गरिसकेको छ । बाढी आएको बुधबार नै भारतीय वायुसेनाको विमानले अस्थायी आश्रयस्थल, कम्बल, सरसफाइ किट, सौर्य बत्ती तथा औषधिलगायत १० टन आकस्मिक राहत सामग्री नेपाल ल्याएको थियो ।
त्यसको भोलिपल्ट बिहीबार भारत सरकारले पाल, कम्बल, सरसफाइ किट, सौर्य बत्ती, पानी निकाल्ने पम्प, भान्साका सामग्री, जेनेरेटर सेट, औषधि तथा खाद्य सामग्रीसहित ३७ दशमलव ५ टन राहत सामग्री पठाएको थियो ।
त्यसपछि भारतले शुक्रबार पाँच सदस्यीय भारतीय सेनाको सुरुङ उद्धार प्रारम्भिक निरीक्षण टोली र छ सदस्यीय चिकित्सा टोली पठाउनुका साथै पोर्टेबल जेनेरेटर सेट, डिग्निटी किट, खाद्य सामग्री, पानी शुद्धीकरणका ट्याब्लेट तथा औषधिसहित थप १० टन सामग्री पठाएको थियो ।
आज बिहान चीनको जनमुक्ति सेना वायुसेनाका दुई वटा ढुवानी विमान चीनद्वारा प्रदान गरिएको आपत्कालीन राहत सामग्री लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका छन् । चार जना चिनियाँ सुरुङ उद्धार विशेषज्ञ उद्धार उपकरणसहित विमानमा आएका छन् ।
दुवै ढुवानी विमानले चीनको छेन्दु शुआङ्लिउ अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेका थिए । करिब तीन घण्टाको उडानपछि काठमाडौँ आइपुगेका ती विमानले पाल, कम्बल, स्लीपिङ ब्याग, हार्डट्याक तथा प्राथमिक उपचार किटलगायत १३ हजार दुई सय थान आपत्कालीन राहत सामग्रीसहित ५० टन सामग्री ल्याएका छन् ।
भारत र चीनका सुरुङ उद्धार टोली भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सुरुङमा फसेका व्यक्तिको उद्धारमा खटिएका छन् । प्रभावित क्षेत्रका कतिपय जलविद्युत् आयोजनाका सुरुङमा अझै कैयौँ व्यक्ति फसेका र नेपाली सुरक्षाकर्मीले उद्धार जारी राखेका बेला दुवै छिमेकी मुलुकका सुरुङ उद्धार टोली शनिबार नेपाल आइपुगेका थिए ।
पछिल्लो जानकारीअनुसार प्रभावित क्षेत्रबाट शनिबार साँझसम्म सात हजार ५१४ जनालाई हवाई तथा स्थलमार्गबाट उद्धार गरी सुरक्षित स्थानमा पु¥याइएको छ । जसमध्ये विभिन्न जलविद्युत् आयोजना क्षेत्रमा फसेका २७९ जनाको उद्धार भइसकेको छ भने बाँकी क्षेत्रमा नेपाली सेनाले उद्धार प्रयास जारी राखेको जनाएको छ । उद्धार कार्यमा भारतीय तथा चिनियाँ विज्ञ नेपाली सेनासँगको समन्वयमा खटिएका छन् ।
प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गरी १८ हजार ७०८ सुरक्षाकर्मी परिचालित छन् ।
यसैगरी, प्रभावितको व्यवस्थापन तथा पुनःस्थापनाका लागि अन्तरराष्ट्रिय समुदायबाट पनि आर्थिक तथा प्राविधिक सहयोगको प्रतिबद्धता आएको छ । एशियाली विकास बैंक (एडीबी)बाट बजेटरी सहयोग (अनुदान) स्वरूप पाँच मिलियन अमेरिकी डलर, विश्व बैंकबाट १६७ मिलियन अमेरिकी डलरको सहुलियतपूर्ण कर्जा, अमेरिकी सरकारबाट पाँच लाख अमेरिकी डलर र अष्ट्रेलिया सरकारबाट एक मिलियन अमेरिकी डलर नगद सहयोग उपलब्ध गराउने प्रतिबद्धता आएको छ । एडीबीले प्राविधिक सहायताका लागि एक लाख ५० हजार अमेरिकी डलर उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।
हालसम्म रसुवा, धादिङ, नुवाकोट, चितवन, तनहुँ, गोरखा, नवलपरासी पूर्व र नवलपरासी पश्चिमका विभिन्न स्थानमा ६७५ वटा शव फेला परेका छन् । फेला परेका शवलाई ‘एयरटाइट ब्याग’मा राखेर व्यवस्थापन गर्ने भइरहेको छ ।
‘पहिचान नभएका तथा शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ बमोजिम शव व्यवस्थापन गरिँदैछ । पहिचान गर्न नसकिने अवस्थामा भेटिएका शवको डीएनएलगायत पहिचानमा सहयोग गर्ने आधार सुरक्षित राखी सरकारले व्यवस्थापन गर्न लागेको हो । परिवारले पहिचान गरेका शव भने सम्बन्धित परिवारलाई जिम्मा लगाउने काम भइरहेको छ ।




प्रतिक्रिया