गगन थापा भोलि बाढी प्रभावित क्षेत्रमा जाने


काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापा भोलि बाढी प्रभावित क्षेत्रमा पुग्ने भएका छन् । पार्टी कार्यालय सानेपामा आइतबार आयोजित विपद् व्यवस्थापनसम्बन्धी बैठकमा उनले यसबारे जानकारी दिएका हुन् ।

थापाले बाढी र पहिरोबाट अति प्रभावित क्षेत्रमा पुगेर त्यहाँको स्थलगत अवस्था बुझ्ने र थप राहत तथा उद्धारका लागि आवश्यक पहल गर्ने पनि बताए ।

पार्टी कार्यालयमा नुवाकोट, रसुवा, धादिङ लगायतका जिल्लाका नेता तथा कार्यकर्ताहरूसँगको छलफलमा उनले विपद्को यो घडीमा सम्पूर्ण ध्यान उद्धार र राहतमा केन्द्रित गर्न निर्देशन दिए ।

थापाले स्थानीय सरकारलाई सक्रिय बनाउनुपर्ने र प्रधानमन्त्री राहत कोषमार्फत एकद्वार प्रणालीबाट सहयोग पुर्‍याउनु प्रभावकारी हुने बताए । स्थलगत भ्रमणपछि प्राप्त हुने जानकारीका आधारमा सरकारलाई उद्धार र राहत कार्यलाई थप व्यवस्थित सुझाव दिने थापाले बताए ।