काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाबीच भेटवार्ता भएको छ।
आइतबार रास्वपा केन्द्रीय कार्यालय, बनस्थलीमा भएको भेटवार्तामा पछिल्लो बाढी–पहिरोबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका विषयमा छलफल भएको हो।
भेटमा मुख्यमन्त्री थापाले विपद्को समयमा तीन तहका सरकारबीच अपेक्षाअनुसार समन्वय हुन नसकेको बताए। प्रदेश सरकारले आफ्नै ढंगले काम गरिरहेको भए पनि संघ, प्रदेश र स्थानीय तहबीच कसले के काम गर्ने भन्ने स्पष्ट विभाजन आवश्यक रहेको उनको भनाइ थियो।
प्रधानमन्त्री प्रभावित क्षेत्रमा पुग्दा समेत प्रदेश सरकारलाई त्यसबारे जानकारी नदिइएको भन्दै मुख्यमन्त्री थापाले दुःख व्यक्त गरे। प्रभावित क्षेत्रमा पठाउनुपर्ने राहत सामग्रीसमेत सहज रूपमा पुर्याउन नसकिएको उनले जानकारी दिए।
उनका अनुसार पठाइएको राहत बट्टार क्षेत्रमा जम्मा भएको र त्यसभन्दा माथिका प्रभावित क्षेत्रमा पुर्याउन कठिनाइ भइरहेको छ। मुख्यमन्त्री थापाले जलवायु परिवर्तनको असर दीर्घकालीन हुने देखिएकाले खोला किनारमा रहेका जोखिमयुक्त बस्तीलाई स्थानान्तरण गर्न तीनै तहका सरकारले तत्काल समन्वयकारी ढंगबाट काम गर्नुपर्ने आवश्यकता औंल्याए।
भेटमा रास्वपा सभापति लामिछानेले विपद्को समयमा स्थानीय र संघीय सरकारलाई जोड्ने भूमिका प्रदेश सरकारले प्रभावकारी रूपमा खेल्नुपर्ने बताए। अहिलेको अवस्थामा सबै तहका सरकारले आपसी समन्वयमा काम गर्नुपर्ने विषयमा आफूहरू सचेत रहेको उनको भनाइ थियो।
लामिछानेले संघीय सरकारका तर्फबाट आवश्यक सम्पूर्ण सहयोगका लागि समन्वय गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे। उनले विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत, उद्धार तथा आवश्यक सहयोग उपलब्ध गराउन सरकारका सम्बन्धित निकायसँग समन्वय गर्ने बताए।




प्रतिक्रिया