बाढी प्रभावित देवघाटमा कांग्रेस तरुण दलको सरसफाइ तथा व्यवस्थापन अभियान




काठमाडौ । गत भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित देवघाटलगायतका क्षेत्रमा नेपाली कांग्रेस भातृ संगठन नेपाल तरुण दलले सरसफाइ तथा आवश्यक व्यवस्थापनको काम गरेको छ।



नेपाल तरुण दल केन्द्रबाट खटिएको टोलीले बाढीका कारण प्रभावित क्षेत्रमा सरसफाइ गर्नुका साथै स्थानीय आवश्यकताअनुसार व्यवस्थापनको काम अघि बढाएको हो।


अभियानमा तरुण दल सिन्धुपाल्चोकका जिल्ला अध्यक्ष सञ्जय लामा, लमजुङका जिल्ला अध्यक्ष भुपेश गुरुङ, सोलुखुम्बुका जिल्ला अध्यक्ष अशोक झासहित विभिन्न जिल्लाका तरुण दलका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो।



बाढीपछि प्रभावित क्षेत्रमा फोहोर तथा बाढीले बगाएर ल्याएका सामग्रीका कारण जनजीवन प्रभावित भइरहेका बेला तरुण दलले स्थानीयसँग सहकार्य गर्दै सरसफाइ तथा आवश्यक व्यवस्थापनको काम गरेको तरुण दलले जनाएको छ।



विपद्को समयमा उद्धार, राहत तथा पुनःस्थापनाका काममा निरन्तर सक्रिय रहने प्रतिबद्धतासहित तरुण दलले प्रभावित क्षेत्रमा आवश्यकताअनुसार थप सहयोग गर्ने बताइएको छ ।