शेयर बजारमा बाढीको धक्काः किन घट्दैछ जलविद्युतको भाउ ?


काठमाडौँ । भोटेकोसी नदी प्रणाली र आसपासका क्षेत्रमा आएको विनाशकारी बाढीले भौतिक पूर्वाधारमा पुर्‍याएको क्षतिले धितोपत्र बजारमा गम्भीर तरंग पैदा गरेको छ। बाढीका कारण सञ्चालनमा रहेका तथा निर्माणाधीन विभिन्न जलविद्युत् आयोजना र प्रसारण संरचनामा क्षति पुगेपछि त्यसको प्रत्यक्ष असर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनीहरूको शेयर मूल्यमा परेको छ। प्राकृतिक विपद्लगत्तै बजारमा अस्वाभाविक गिरावट देखिएपछि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेप्सेलाई निगरानी बढाउन कडा निर्देशन दिएको छ।
प्राकृतिक विपद्लगत्तै प्रभावित कम्पनीहरूको भौतिक एवं वित्तीय क्षतिको आधिकारिक विवरण सार्वजनिक नहुँदा शेयर बजारमा भ्रम र अफवाहको स्थिति सिर्जना हुने गर्छ। सूचनाको पहुँचमा रहेका सञ्चालक वा भित्री व्यक्तिहरूले क्षतिको वास्तविक स्थिति लुकाएर वा पूर्वजानकारीका आधारमा सेयर खरिद–बिक्री गर्न सक्ने जोखिम उच्च हुन्छ।
यसै परिस्थितिलाई दृष्टिगत गर्दै सेबोनले नेप्सेलाई भोटेकोसी आसपासका जलविद्युत् आयोजना र अन्य प्रभावित कम्पनीहरूको विस्तृत सूची तत्काल तयार गर्न र भौतिक क्षतिको विवरण सार्वजनिक गराउन भनेको छ। प्रभावित कम्पनीको धितोपत्र कारोबारमा अस्वाभाविक मूल्य परिवर्तन र असामान्य खरिद–बिक्री गतिविधिलाई विशेष निगरानीमा राख्ने निर्देशनले साना तथा आम लगानीकर्तालाई सूचनाको असन्तुलनबाट जोगाउने प्रयास गरेको छ।
नेपाली शेयर बजारमा जलविद्युत् समूहको वर्चस्व र आकर्षण दुवै उच्च छ। तर, भौगोलिक बनोट र जलवायु परिवर्तनका कारण यी आयोजनाहरू प्राकृतिक जोखिमबाट अत्यधिक संवेदनशील मानिन्छन्। बाढी आएलगत्तै सोमबारको कारोबारमा परेको तीव्र दबाबले लगानीकर्ताहरूमा त्रासका कारण हतारमा शेयर बेच्ने प्रवृत्ति बढाएको स्पष्ट देखिन्छ।
आयोजनामा पुगेको क्षति, उत्पादन स्थगन, बीमा दाबी फर्छ्यौटमा हुने ढिलाइ र पुनःनिर्माणमा लाग्ने समयले कम्पनीको भावी लाभांश र वित्तीय स्वास्थ्यमा प्रत्यक्ष प्रभाव पार्छ। यस्तो अवस्थामा कम्पनीहरूले वास्तविक नोक्सानी समयमै पारदर्शी रूपमा सार्वजनिक नगरे लगानीकर्ताको मनोबल झनै खस्कने खतरा रहन्छ।
धितोपत्र बोर्डले दिएको निर्देशन पत्राचारमा मात्र सीमित हुनु हुँदैन। जलविद्युत् आयोजनामा परेको क्षति लगानीकर्ताको सम्पत्तिसँग सोझै जोडिएकाले नेप्सेले आफ्ना संयन्त्रमार्फत बजारका अस्वाभाविक चालढाल निरन्तर अनुगमन गर्नुपर्छ।

बाढी प्रभावित आयोजनाहरूले भौतिक क्षति, उत्पादन रोकिएको अवधि र सम्भावित बीमा भुक्तानीको विवरण सर्वसाधारणका लागि पारदर्शी रूपमा सूचना पाटीमार्फत सार्वजनिक नगरेसम्म ती कम्पनीको शेयर कारोबारलाई आवश्यक परे केही समयका लागि स्थगन गर्ने विकल्पमा पनि ध्यान दिनुपर्छ। प्राकृतिक विपद्को संवेदनशील समयमा शेयर बजारलाई सट्टेबाजी वा भित्री खेलको थलो बन्न नदिनु नै नियामक र बजार सञ्चालकको प्रमुख दायित्व हो।