सरकारले सबै संयन्त्र परिचालन गरेर खोज, उद्धार र राहत वितरणलाई प्रभावकारी बनाउनुपर्छ : गणेश पराजुली


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका उपनेता गणेश पराजुलीले विपद्को समयमा सरकारले आफूसँग भएका सबै संयन्त्र परिचालित गरेर खोज, उद्धार र राहत वितरण प्रक्रियालाई थप प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । विपद्का समयमा नेतृत्वको भुमिका स्वयं काम गर्न दौडिने नभई राज्यका सम्पूर्ण संयन्त्रलाई नागरिकको जीवनरक्षामा केन्द्रित गर्ने भएको उनले बताए ।

उनले संकटका बेला नेतृत्व स्वयं उद्धारमा खटिनुभन्दा तत्काल सही निर्णय गर्ने, आवश्यक जनशक्ति परिचालन गर्ने र अवरोध हटाउने भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

उनले सरकारले उद्धारकर्मीलाई साहस, सम्बन्धित निकायलाई स्पष्ट निर्देशन र नागरिकलाई भरोसा दिनसक्नुपर्ने बताए ।

उनले भने, संकटको समयमा नेतृत्वको भूमिका स्वयं सबै काम गर्न दौडिने मात्र होइन । सही ठाउँमा सही निर्णय र व्यक्तिलाई परिचालन गर्ने आवश्यक निर्णय तत्काल गर्ने, अवरोध हटाउने र सम्पूर्ण संयन्त्रलाई नागरिकको जीवन रक्षामा केन्द्रित गराउने हो । त्यसैले यस्तो विपत्तिमा नेतृत्वले आफ्नो स्थान नछाडि कमाण्ड, कोअर्डिनेसन, कम्युनिकेसनको श्रृंखला बलियो बनाइराख्नुपर्छ । संकटको बेला पदमा रहनु मात्र नेतृत्व होइन, आफ्नो जिम्मेवारी पहिचान गरि त्यसमा अडिग रहि प्रत्येक निकायलाई जिम्मेवार र परिणाममुखि ढंगले परिचालन गर्न सक्नु पनि वास्तविक नेतृत्वको परिक्षा हो ।’