काठमाडौँ । रसुवाको भोटेकोशी बाढीका क्रममा हराएकामध्ये बुधबार ३४ जनाको नेपाली सेनाले उद्धार गरेको छ । सेनाले हालसम्म हवाई हेलिकप्टरबाट २७३ विदेशीसहित ३ हजार ९२५ जनाको उद्धार गरेको छ ।
नेपाली सेना द्वारा प्रेषित अपडेटअनुसार रसुवागढी हाइड्रोमा नेपाली सेना तथा आयोजनाको प्रतिनिधि (इन्जिनियर) सहित २७५ मीटरसम्म पुगेर खोजी कार्य भइरहेको छ । त्यसक्रममा एकसाभेटर ड्रप गरी उद्धार कार्यलाई थप तीव्र गराउने तयारी रहेको छ ।
लाङटाङ हाइड्रोमा विदेशीसहित २५ जनाको संयुक्त खोज तथा उद्धार टोलीले टनेलभित्र करिब १५० मिटरसम्म प्रवेश गरी खोजी कार्य भइरहेको सेनाले उल्लेख गरेको छ ।
चिलिमे हाइड्रोमा माउन्टेन एसोसिएसन र विदेशीसहितको संयुक्त टोली १५० मिटरमा पुगेर टनेल बन्द भएको अवस्थामा फेला परेको र साउण्ड डिटेक्टरबाट मोनिटर गर्ने काम भएको छ ।
अपर त्रिशूली-१ मा टनेलको मुख ढुङ्गाले छेकिएको अवस्थामा रहेकोले भित्र छिर्ने प्रयास भइरहेको अपडेटमा उल्लेख छ। साथै, हाकुबेसीमा २६० मीटर भित्रसम्म पुगेर खोजी कार्य गर्दा हालसम्म केही फेला परेको छैन ।
त्यहाँको मेन टनेलमा २५ मिटर, एसेस टनेल-१ बाट करिब १५० मिटर र एसेस टनेल-२ बाट करिब २० मिटर गएपछि सेनाको टोली २६ मीटर पानी भएको डीसेन्डर बेसिनसम्म पुगेको छ । त्यहाँ अगाडी बन्द अवस्थामा भेटिएको छ ।
त्रिशूली- थ्री एमा नेपाली सेना सहितको ९३ जनाको संयुक्त उद्धार टोलीले ४ वटा स्काभेटर र एक बबक्याटबाट माटो पन्छाई कम्प्रेसर मेसिन ब्रेकर तथा ब्लाष्टिङ्ग कार्य भएको छ ।
त्यसपछि टनेलको आउटलेटमा लेदो भरिएका कारण बोकाडद्वारा माटो फाल्ने काम भएको र अगाडि रहेको चट्टान ब्लाष्टिङ्गको कार्य भइरहेको सेनाले उल्लेख गरेको छ ।
त्रिशूली थ्री बीमा नेपाली सेनाको ६१, गैरसैनिक ३ र आयोजनाका प्रबन्ध निर्देशक सहितको संयुक्त उद्धार टोलीले आयोजनाको कार्यालय र निवास पहिचान गरी बोकाटसहित अफिस र क्याम्प एरिया पहिचान तथा खोजी कार्य भइरहेको छ ।




प्रतिक्रिया