धनुषा, १८ भदौ । भोटेकोशी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि धनुषाको मिथिला नगरपालिकाले ४१ लाख सहयोग गरेको छ ।
नगरपालिकाले बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेको छ । विपद्को घडीमा सहयोग पु¥याउने उद्देश्यले नगरपालिकाभित्र कार्यरत जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा विद्यालयका कर्मचारीबाट सहयोग सङ्कलन गरिएको नगर प्रमुख महेन्द्र महतोले जानकारी दिए ।
नगरपालिकाका अनुसार नगर प्रमुखबाट रु ५१ हजार १५१, नगर उपप्रमुखबाट रु १२ हजार तथा जनप्रतिनिधिबाट रु तीन लाख ३३ हजार १६५ सहयोग गरिएको छ । त्यस्तै स्थानीय तह विपद् व्यवस्थापन कोषबाट रु ११ लाख उपलब्ध गराइएको छ ।
जनकपुरधाममा उठ्यो १५ लाख ५५ हजार
यसैगरी, बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि जनकपुरधामबाट आर्थिक तथा भौतिक सहयोग जुट्ने क्रम बढेको छ । विभिन्न व्यवसायी, सङ्घसंस्था, शैक्षिक संस्था तथा स्थानीय समुदायले रु १५ लाख ५५ हजार ७३२ आर्थिक सहयोग गरेका छन् ।
जनकपुरधाम उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष मनोजकुमार साहले बाढीपीडितका लागि रु आठ लाख ५१ हजार सहयोग गर्नुभएको छ । त्यसैगरी, नेपाल औषधि व्यवसायी सङ्घ धनुषाले रु चार लाख १११, जनकपुरधाम–६ का मस्जिद तथा मदर्सा कमिटीका पदाधिकारी, सदस्य तथा मुस्लिम युवाले रु एक लाख ९३ हजार ५१० र जानकी बोर्डिङ स्कुलले रु एक लाख ११ हजार १११ सहयोग गरेको छ ।
जनकपुरधाममा प्रभावित परिवारका लागि ठूलो परिमाणमा जुत्ता–चप्पल, लत्ताकपडा, खाद्यान्न, सरसफाइका सामग्री तथा भान्साका सामान सङ्कलन भएको छ । जनकपुरधाम उद्योग वाणिज्य सङ्घका सचिव निरजविक्रम साहका अनुसार विभिन्न व्यवसायी तथा सङ्घसंस्थाले उपलब्ध गराएको सामग्री प्रभावित क्षेत्रमा पठाउने तयारी गरिएको छ ।




प्रतिक्रिया