भोटेकोसी बाढी: १२५९ को मृत्यु, ५ हजारबढी सम्पर्कविहीन



काठमाडौं । रसुवाको भोटेकोसी नदी हुँदै आएको बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार २५९ पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उक्त जानकारी दिएको हो ।

जसमध्ये रसुवामा १२७, नुवाकोटमा १७७, धादिङमा ६०, गोरखामा ७२, तनहुँमा ३८, नवलपरासी पूर्वमा २१८, नवलपरासी पश्चिममा २१२ र चितवनमा ३५५ मानव अंगसहित शव फेला परेका हुन् ।

हालसम्म ९५ शवको सनाखत भएको प्राधिकरणले जानकारी दिएको छ । त्यस्तै, हालसम्म पाँचहजार ८३ जना सम्पर्कविहीन भएका छन् ।

प्राधिकरणले हालसम्म १२ हजार ३८ जनाको उद्धार गरिएको जानकारी दिएको छ । त्यस्तै, पाँच हजार ३८४ जना घाइतेको उपचार भएको छ ।

उद्धार कार्यमा २१ हजार ४०२ सुरक्षाकर्मी परिचालन गरिएको छ । विभिन्न होल्डिङ सेन्टरमा तीन हजार ८४४ जनालाई राखिएको प्राधिकरणले जानकारी दिएको छ ।