काठमाडौ । एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माइकल प्याट्रिक फोलेले पदबाट राजीनामा दिएका छन्।
उनको राजीनामा भदौ ९ गतेदेखि लागू हुनेगरी स्वीकृत गरिएको हो। एनसेलले फोलेको राजीनामाबारे नेपाल दूरसञ्चार प्राधिकरणलाई समेत जानकारी गराएको छ।
नयाँ सीईओ नियुक्त नभएसम्म कम्पनीको अन्तरिम नेतृत्वका लागि प्रमुख कर्पोरेट तथा नियामकीय मामिला अधिकृत डिल्लीराम श्रेष्ठलाई अख्तियारी दिइएको छ। फोलेले सन् २०२५ नोभेम्बर १ अर्थात् २०८२ कात्तिक १५ गतेदेखि एनसेलको सीईओको जिम्मेवारी सम्हालेका थिए।
उनले एनसेलको नेतृत्व सम्हालेको करिब १० महिनामै पदबाट राजीनामा दिएका हुन्। दूरसञ्चार क्षेत्रमा दुई दशकभन्दा बढीको नेतृत्व अनुभव भएका फोले एनसेलमा आउनुअघि एयरटेल अफ्रिकाको फ्रान्कोफोन अफ्रिका क्षेत्रका प्रमुख थिए।
श्रेष्ठ एनसेलमा लामो समयदेखि कर्पोरेट तथा नियामकीय मामिलाको नेतृत्व गर्दै आएका वरिष्ठ कानुनी तथा व्यवस्थापन विज्ञ हुन्। एनसेलको नेतृत्वमा उनको अन्तरिम जिम्मेवारी नयाँ सीईओ नियुक्त नभएसम्म कायम रहनेछ।




प्रतिक्रिया