बाढीपीडितका लागि नेविसंघको स्वास्थ्य तथा सहयोग शिविर


नुवाकोट। बाढी र पहिरोबाट प्रभावित भएका नागरिकहरूको सहयोगका लागि नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले नुवाकोटमा मनोपरामर्श सेवा सुरु गरेको छ।

नेविसंघले नुवाकोटको विदुर नगरपालिका वडा नं ९ स्थित स्टार बोर्डिङ स्कुलमा स्थापना गरिएको होल्डिङ सेन्टरबाट स्वास्थ्य शिविर तथा मनोपरामर्श कार्यक्रम सुरु गरेको हो।

नेविसंघ अध्यक्ष करुणा कटुवालका अनुसार जिल्लाका विभिन्न होल्डिङ सेन्टरहरूमा पुगेर आगामी ३ दिनसम्म स्वास्थ्य र मनोपरामर्श शिविर सञ्चालन गरिनेछ ।

बाढी र पहिरोपछि उत्पन्न हुनसक्ने स्वास्थ्य समस्या र पीडितहरूमा पर्न सक्ने मानसिक तनावलाई कम गर्न यो अभियान सुरु गरिएको अध्यक्ष कटुवालले जानकारी दिइन्।

नेविसंघले विदुरमा होल्डिङ सेन्टर रहेका पुरानो स्टार बोर्डिङ स्कुल, भैरवी माध्यमिक विद्यालय, मिजार बस्ती, चण्डेश्वरी माध्यमिक विद्यालय, सुलक्षणा माध्यमिक विद्यालय, किन्ताङ टोलको चर्च घरमा मनोपरामर्श सुरु गरेको अध्यक्ष कटुवालले बताइन् । 

अहिलेको सङ्कटपूर्ण अवस्थामा पीडितहरूलाई औषधोपचारसँगै उचित परामर्शको खाँचो रहेको महसुस गरी यो कार्यक्रम आयोजना गरिएको कटुवालले बताइन्।शिविरमा स्वास्थ्यकर्मीहरूको टोलीले बिरामीहरूको जाँच गर्नुका साथै आवश्यक औषधि समेत वितरण गरिरहेको छ र मनोपरामर्श पनि दिइरहेका छ।