काठमाडौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा त्यसबाट सिर्जित विपद्मा परी ज्यान गुमाउनेको संख्या १ हजार २८७ पुगेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रबार मध्यान्ह सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार विपद्बाट प्रारम्भिक अनुमानमै ३ खर्ब ८७ अर्ब ५४ करोड रुपैयाँ बराबरको आर्थिक क्षति तथा नोक्सानी भएको छ।
प्राधिकरणका अनुसार शीघ्र पुनर्लाभका लागि मात्रै करिब ७ अर्ब १५ करोड रुपैयाँ आवश्यक पर्ने देखिएको छ। शुक्रबार मध्यान्हसम्म फेला परेका १ हजार २८७ शवमध्ये सबैभन्दा धेरै चितवनमा भेटिएका छन्। हालसम्म फेला परेका शवमध्ये ९६ जनाको मात्र सनाखत भएको प्राधिकरणले जनाएको छ।
जिल्लागत रूपमा फेला परेका शवको संख्या:
चितवन: ३५९
नवलपरासी (पूर्व): २१९
नवलपरासी (पश्चिम): २१२
नुवाकोट: १८४
रसुवा: १४०
गोरखा: ७२
धादिङ: ६३
तनहुँ: ३८
यस्तै बाढी तथा पहिरोमा परी ५ हजार ८३ जना अझै सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। तीमध्ये ५८३ जना विदेशी नागरिक छन्। सम्पर्कविहीनमध्ये रसुवाका २ हजार १३० र नुवाकोटका २ हजार ३४० जना छन्।
प्राधिकरणले सम्पर्कविहीनको सूचीमा पहिचान हुन बाँकी शवसमेत समावेश भएको हुनसक्ने जनाएको छ। विपद्का क्रममा हालसम्म ५ हजार ३९७ जना घाइते भएका छन्। उनीहरूको विभिन्न अस्पताल तथा नेपाली सेना र सशस्त्र प्रहरी बलका स्वास्थ्यकर्मीमार्फत उपचार भइरहेको छ।
सुरक्षा निकायले उद्धार कार्यलाई तीव्रता दिँदै हालसम्म १३ हजार ९३ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ। उद्धार गरिएकामध्ये ३०३ जना विदेशी नागरिक रहेका छन्। शुक्रबार मात्रै माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट दुई जनालाई जीवितै उद्धार गरिएको थियो। उद्धार तथा राहतका लागि नेपाली सेनाले ८३० पटक र निजी क्षेत्रले १२९ पटक हेलिकप्टर उडान गरेका छन्।
प्रारम्भिक विवरणअनुसार विपद्बाट ७ हजार ५७० निजी घरमा क्षति पुगेको छ। त्यस्तै ४८ सरकारी संरचना, १८ विद्यालय तथा ७ स्वास्थ्य संस्थामा पूर्ण वा आंशिक क्षति पुगेको छ। यस्तै ५५ किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ३७ वटा मोटरेबल पुलमा क्षति, ६८ वटा झोलुङ्गे पुलमा क्षति भएको प्राधिकरणले जनाएको छ।
विपद् व्यवस्थापन तथा उद्धारका लागि देशभर २१ हजार ४२१ सुरक्षाकर्मी परिचालन गरिएको छ। जसमा नेपाली सेनाका ९ हजार २८७, नेपाल प्रहरीका ७ हजार ९३१ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ जना छन्।
प्रभावित क्षेत्रमा राहत सामग्री पुर्याउन काठमाडौंबाट ६९ ट्रक र ३८ बोलेरोमार्फत खाद्यान्न तथा गैरखाद्यान्न सामग्री पठाइएको छ। सशस्त्र प्रहरीले १६३ हवाई उडानमार्फत नुवाकोट र रसुवामा राहत सामग्री पुर्याएको जनाएको छ।
सरकारले तत्काल राहतका लागि रसुवा र नुवाकोटलाई १/१ करोड रुपैयाँ, धादिङलाई ५० लाख रुपैयाँ तथा प्रभावित १५ स्थानीय तहलाई १३ करोड ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराएको छ ।




प्रतिक्रिया