काठमाडौ । नुवाकोटको सिम्ले नजिकै निर्माणाधीन माथिल्लो त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको सुरुङमा बाढीका कारण फसेकाहरूको खोजीमा उद्धार टोली ४२६ मिटर भित्रसम्म प्रवेश गरेको छ।
भोटेकोशीमा आएको विनाशकारी बाढीपछि आयोजनाको सुरुङ तथा क्वार्टरमा फसेका व्यक्तिको खोजीका लागि नेपाली सेनासहितको संयुक्त उद्धार टोली परिचालित छ। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार टोली सुरुङभित्र ४२६ मिटरसम्म पुगेर खोजी कार्य गरिरहेको छ।
खोज तथा उद्धार अभियानमा आयोजनाका प्रबन्ध निर्देशक आनन्द ढुङ्गेलसमेत आयोजनास्थलमै खटिएका छन्। ३७ मेगावाट क्षमताको उक्त आयोजना नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीले निर्माण गरिरहेको हो।
बाढीपछि आयोजनाको क्वार्टर तथा सुरुङमा गरी १२२ जना फसेको आकलन गरिएको छ। उनीहरूको अवस्था पत्ता लगाउन उद्धार टोलीले विभिन्न स्थानमा खोजीलाई तीव्रता दिएको छ। उद्धार अभियानमा नेपाली सेनाका ८९ जना सैनिक तथा ३ जना गैरसैनिक उद्धारकर्मी परिचालन गरिएको निर्देशनालयले जनाएको छ।
संयुक्त उद्धार टोलीले आयोजनाको कार्यालय तथा कर्मचारी आवास रहेको स्थान पहिचान गरेको छ। ती स्थानसम्म पुगेर सम्भावित रूपमा फसेका व्यक्तिको खोजी गर्न स्काभेटर प्रवेश गराउने प्रयास भइरहेको छ।
भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाका सुरुङ तथा भूमिगत संरचनामा ठूलो संख्यामा मानिस फसेको आशंका गरिएको छ। त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङबाट केही व्यक्तिलाई जीवितै उद्धार गरिएपछि अन्य आयोजनामा फसेकाहरूको खोजीमा समेत आशा बढेको छ।




प्रतिक्रिया