बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीको सन्देश : ‘तपाईंहरू भोलिका उज्याला झुल्का हुनुहुन्छ’


काठमाडौं । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित बालबालिकालाई श्रीकृष्ण जन्माष्टमीको अवसरमा विशेष सन्देश दिँदै विपद्का कारण परेको पीडाप्रति दुःख व्यक्त गरेका छन् ।

शुक्रवार साँझ फेसबुकमार्फत प्रधानमन्त्री बालेनले श्रीकृष्ण जन्माष्टमीका दिन साना नानीबाबुहरू राधाकृष्णको रूपमा सिँगारिएर रमाइरहेको स्मरण गर्दै बाढी प्रभावित क्षेत्रका बालबालिकाले भने यसपटक त्यस्तो खुशी मनाउन नपाएको उल्लेख गरेका छन् ।

उनले अचानक आएको विपद्का कारण कतिपय बालबालिकाले आफ्ना बाबुआमा र आफन्त गुमाएको तथा कतिपय अझै स्तब्ध अवस्थामा रहेको बताएका छन् । बाढीले घरबस्ती, खेल्ने चौर तथा आफ्नो जन्मथलो नै बिरानो जस्तो बनाएको भन्दै उनले बालबालिकाको पीडिप्रति संवेदनशील बन्न सबैलाई आग्रह गरेका छन् ।

बाढीपछि गम्भीर घाइते, गर्भवती, सुत्केरी, अपाङ्गता भएका व्यक्ति र वृद्धवृद्धासँगै बालबालिकालाई पनि उद्धारमा प्राथमिकता दिइएको प्रधानमन्त्रीले बताएका छन् । प्रभावित क्षेत्रमा सञ्चालन भइरहेका होल्डिङ सेन्टरमा रहेका बालबालिकाका लागि सुरक्षित र सहज बसोबासको व्यवस्था गर्ने प्रतिबद्धता पनि उनले जनाएका छन् ।
‘तपाईंहरू त भोलिका उज्याला झुल्काहरू हुनुहुन्छ,’ प्रधानमन्त्रीले सन्देशमा भनेका छन्, ‘तपाईंहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ ।’

प्रधानमन्त्री बालेनका अनुसार बाढी प्रभावित क्षेत्रबाट १३ हजार ९५ जना नागरिकको उद्धार भइसकेको छ । उद्धारमा आफ्नो ज्यानको समेत परवाह नगरी खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल तथा अन्य विज्ञ टोलीलाई उनले धन्यवाद दिएका छन् ।

त्यस्तै, विपद्का बेला सहयोग गर्ने विदेशमा रहेका नेपाली, मित्र राष्ट्र तथा विकास साझेदार संस्थाहरूप्रति पनि प्रधानमन्त्रीले कृतज्ञता व्यक्त गरेका छन् ।
‘विपद्को भाषा विनाश र दुःख हो, तर यस्तो संकटका बेला हामीले एकता, सद्भाव र भ्रातृत्वको भावना मनमा राखेर काम गर्नुपर्छ,’ उनले भनेका छन्