काठमाडौं । एनसेलले रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा प्रदान गर्दै आएको निःशुल्क सेवाको अवधि पुनः सात दिन थप गर्ने घोषणा गरेको छ । सहज सञ्चार, खोज, उद्धार तथा राहत वितरण कार्यमा सहयोग पुर्याउने उद्देश्यले एनसेलले यो निःशुल्क सेवा भोलि भदौ २० गतेदेखि थप सात दिन अर्थात् भदौ २६ गतेसम्म उपलब्ध गराउने भएको हो ।
यससँगै प्रभावित क्षेत्रमा थप एक हप्तासम्म एनसेलका भ्वाइस, डेटा र एसएमएस सेवा निःशुल्क उपलब्ध हुनेछन् । यसअघि एनसेलले बाढी आएको दिन भदौ १० गते प्रभावित क्षेत्रमा तीन दिनसम्म निःशुल्क भ्वाइस, डेटा र एसएमएस सेवा उपलब्ध गराउने घोषणा गरेको थियो । त्यसपछि निःशुल्क सेवाको अवधि सात दिन थप गरी भदौ १९ गतेसम्म पुर्याइएको थियो ।
“यस कठिन घडीमा सहज सञ्चार सुनिश्चित गर्न हामीले प्रभावित क्षेत्रमा निःशुल्क सेवाको अवधि पुनः सात दिन थप गर्ने निर्णय गरेका हौँ । अवरुद्ध भएका टावरमध्ये ९२ प्रतिशत पुनः सञ्चालनमा आइसकेकाले विपद्को समयमा हाम्रो यो निःशुल्क सेवाले प्रभावित समुदायलाई परिवार तथा आफन्तसँग सम्पर्कमा रहन र उद्धार तथा राहत कार्यमा खटिएका टोलीलाई आवश्यक समन्वय गर्न ठूलो मद्दत पुग्ने विश्वास लिएका छौँ,” एनसेलका चीफ कन्जुमर बिजनेस अफिसर उपांग दत्ताले भने ।
विपद्को समयमा सञ्चार सेवाले सूचना आदानप्रदान, आपसी समन्वय तथा खोज, उद्धार र राहत वितरणका कार्यलाई प्रभावकारी बनाउन महत्त्वपूर्ण भूमिका खेल्छ । निःशुल्क सेवाले प्रभावित समुदायका सर्वसाधारणलाई परिवारका सदस्य, आफन्त तथा उद्धार र राहत कार्यमा संलग्न टोलीसँग सम्पर्कमा रहन सहज बनाउँदै आएको छ ।
प्रभावित ९२ प्रतिशत टावर पुनः सञ्चालनमा
एनसेलले भोटेकोसी बाढीका कारण प्रभावित क्षेत्रमा अवरुद्ध भएका आफ्ना ९२ प्रतिशत टावर पुनः सञ्चालनमा ल्याई सेवा प्रवाह गर्दै आएको छ । कम्पनीले बाँकी टावरहरू पुनः सञ्चालनमा ल्याउन आवश्यक कार्यसमेत गरिरहेको जनाएको छ ।
बाढीका कारण एनसेलका कुल २७ वटा टावर अवरुद्ध भएका थिए । बिहीबार कम्पनीले आफ्नो २५औँ टावर नुवाकोटको त्रिशूलीमा पुनः सञ्चालनमा ल्याएको छ । रसुवाको घट्टेखोला, टिमुरेमा रहेको एक टावर भने पूर्ण रूपमा नष्ट भएको छ । रसुवाकै उत्तरगया, तिरुमा रहेको बाँकी एक टावरमा हेलिकोप्टरमार्फत आवश्यक उपकरण पुर्याई सेवा पुनः सञ्चालन गर्न आवश्यक समन्वय भइरहेको एनसेलले जनाएको छ ।
एनसेलले विपद्का समयमा सञ्चार सेवा निरन्तर कायम राख्न तथा खोज, उद्धार, राहत र जनचेतना फैलाउने लगायतका कार्यमा सहयोग पुर्याउँदै आएको छ । सम्बन्धित निकायले जारी गरेका जानकारीमूलक सन्देशहरू एसएमएस, कल टोन तथा आफ्ना सामाजिक सञ्जालका पेज र अकाउन्टमार्फत सम्प्रेषण गर्दै आएको छ ।
यसैगरी, बाढी गएको भोलिपल्टै एनसेलले खोज, उद्धार, राहत तथा पुनःस्थापना कार्यमा योगदान पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एनसेल फाउन्डेसनमार्फत एक करोड रुपैयाँ सहयोग गरेको थियो ।




प्रतिक्रिया