काठमाडौँ । अछामको मेल्लेख गाउँपालिका-६ सिमसेली बस्ने ३३ वर्षीय भिमबहादुर खत्रीलाई भरुवा बन्दुक एक थानसहित प्रहरीले बिहीबार पक्राउ गरी आज सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय साँफेबगरबाट खटिएको प्रहरीले खत्रीको गोठ तलासी गर्दा उक्त बन्दुक फेला पारी बरामद गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
१२ थान भरुवा बन्दुक बरामद
धादिङको निलकण्ठ नगरपालिका-७ मर्स्याङछापस्थित खरबारी वनबाट भरुवा बन्दुक एक थान प्रहरीले बरामद गरेको छ । इलाका प्रहरी कार्यालय सुनौला बजारबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।
दाङका विभिन्न स्थानबाट भरुवा बन्दुक १० थान आज बिहान प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले बबई गाउँपालिका-४ स्थित चितलगैरा सामुदायिक वनबाट चार थान, सोही गाउँपालिका-२ सुवाखोरे सामुदायिक वनबाट एक थान र लमही नगरपालिका-३ जखेरा सामुदायिक वनबाट पाँच थान भरुवा बन्दुकहरू फेला पारी बरामद गरेको हो ।
त्यस्तै, रौतहटको गुजरा नगरपालिका-३ बलुवा टोलबाट भरुवा बन्दुक एक थान प्रहरीले आज बरामद गरेको छ । प्रहरी चौकी हरिनगरबाट खटिएको टोलीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।




प्रतिक्रिया