काठमाडौंबाट डाक्टर लगेर रजनीले गराइन बाढी पीडितको स्वास्थ्य जाँच


काठमाडौं । अभिनेत्री रजनी केसीले बाढी पीडितहरुको लागि नुवाकोट,बिदुर नगरपालिका,टारमा बिहीबार स्वास्थ्य सिबिर संचालन गरेकी छिन । काठमाडौंबाट डा.सुदिप पण्डितसहितको टोली लिएर आफ्नो जन्म जिल्ला पुगेकी उनले बाढी पीडितको निशुल्क स्वास्थ्य चेकअपका साथै आवश्यक औषधी वितरण गरिन् ।


फार्मेसिस्ट समेत रहेकी रजनी बाढी आएको दिनदेखि नै पीडितहरुको उद्धार,राहत संकलन तथा बितरणमा खटिएकी छिन् । पिपल डेन्टल कलेज एण्ड हस्पिटल प्रालिसँगको सहकार्यमा आयोजीत शिविरमा करिब साढे दुई सय बिरामीले सेवा लिएको उनले बताइन् ।

स्वास्थ्य शिविरका साथ पीडितहरुलाई खाद्य सामाग्री,लुगा,सरसफाइका सामान तथा बालबालिकाहरुलाई कापी,पेन्सील,किताब,ड्रोइङ्ग बुक साथै मनोबैज्ञानिक उपचार स्वरुप खेल्ने सामाग्रीहरु बितरण गरिएको उनले जानकारी दिइन ।


नुवाकोट टुप्चेकी स्थायी रजनी भदौ १० गते आएको बिनाशकारी बाढीपछि हराएकाहरुको उद्दार र राहतका लागि निकै खटिएकी थिइन् । बाढीका कारण सोले बजारबाट आफ्नो मावली हजुर आमा,माइजू,भाइ,बुहारीलगायत थुप्रै आफन्तलाई गुमाएकी उनको निरन्तरको प्रयासबाट केही पीडितहरुको उद्दार सफल भएको थियो ।


आफन्तहरु गुमाउनुको पीडाका बाबजुत पनि उद्दार र राहतमा खटिइरहेकी उनले स्थानीय आशीष रिजाललगायतका सहयोगीहरुको साथले अत्यन्तै प्रभाबित उक्त स्थानमा शिविर संचालन गर्न सम्भव भएको बताइन । उनले बाढीबाट पीडित थुप्रैले अझैसम्म अत्यावश्यक राहत सामाग्री,औषधि उपचार नपाएको देख्दा निकै दु:ख लागेको बताइन् ।


आफ्नो जन्मभुमिमा हजारौं आफ्ना-आफन्त ले ज्यान गुमाउनुका साथै घर परिवारबिहीन भएको देख्दा हृदय छियाछिया भएको बताउदै उनी भन्छिन्,’यो कुनै एउटा ठाउँको मात्रै पीडा होइन, सारा नेपाली,सारा विश्व दुखी छ । त्यसैले सबैले हृदय खोलेर सहयोग गर्नुस प्लीज।’