हेटौँडा, २२ भदौ । सीमान्तकृत आदिवासी चेपाङ समुदायले आज आफ्नो प्रमुख सांस्कृतिक तथा धार्मिक पर्व न्वागी (छोनाम) मनाउँदैछन् ।
विशेषगरी मकवानपुर, चितवन, धादिङ र गोरखाका चेपाङ बस्तीमा यो पर्व श्रद्धा र उल्लासका साथ मनाइँदैछ । न्वागीका अवसरमा बागमती प्रदेश सरकारले आज मकवानपुर, चितवन र धादिङ जिल्लामा सार्वजनिक बिदा दिएको छ ।
चेपाङ समुदायको संस्कृति र परम्पराको संरक्षण तथा सम्मानका लागि प्रदेश सरकारले विसं २०७९ देखि न्वागीका अवसरमा यी तीन जिल्लामा सार्वजनिक बिदा दिँदै आइएको छ ।
नयाँ अन्नबाली भित्र्याएपछि पितृ र भूमिलाई चढाएर मात्र उपभोग गर्ने परम्परासँग न्वागी जोडिएको छ । चेपाङ समुदायमा पितृलाई अर्पण नगरी तथा भूमिको पूजा नगरी नयाँ अन्न, फलफूल र कन्दमूल खान नहुने धार्मिक विश्वास छ । न्वागीका दिन घैया धान, काउनो, गाभा, पिँडालु, घिरौँला र निबुवालगायत नयाँ उत्पादन चढाउने गरिन्छ ।
पर्वका अवसरमा समुदायका झाँक्री (पान्दे) ले ढ्याङ्ग्रो बजाउँदै पूजा तथा फलाक्ने र पितृको स्मरण गर्ने धार्मिक विधि सम्पन्न गर्छन् । कतिपय स्थानमा परम्पराअनुसार कुखुराको बलि दिने चलनसमेत छ । पूजा सम्पन्न भएपछि आफन्त तथा छरछिमेकी भेला भएर सामूहिक भोज खाने, नाचगान गर्ने, टीका लगाउने र आशीर्वाद आदानप्रदान गर्ने परम्परा छ ।
चेपाङ भाषामा न्वागीलाई ‘छोनाम’ भनिन्छ भने कतिपय स्थानमा ‘पान्देई घ्यासा’ पनि भनिन्छ । कुल र स्थानअनुसार भदौ सुरु भएदेखि नै झाँक्रीद्वारा पूजा तथा धार्मिक विधि सुरु हुने गरेको नेपाल चेपाङ सङघका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले बताए ।
उनका अनुसार न्वागी नयाँ अन्न खाने दिन मात्र नभई पितृ र प्रकृतिप्रति कृतज्ञता व्यक्त गर्ने पर्व हो । नयाँ बाली पितृलाई नचढाइ खाएमा अनिष्ट हुने जनविश्वास समुदायमा रहेको उनले बताए ।
न्वागीका दिनलाई चेपाङ समुदायले ‘वारना’ का रूपमा समेत मनाउने गर्छन् । यस दिन काममा ननिस्कने र परिवारका सदस्य घरमै बसेर पूजा, संस्कार तथा भेटघाटमा सहभागी हुने परम्परा छ । वर्षभरि मृत्यु भएका आफन्तको सम्झनामा विशेष पूजा गरिन्छ ।
राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा चेपाङ समुदायको जनसङ्ख्या ८४ हजार ३६४ छ । उनीहरूको मुख्य बसोबास मकवानपुर, चितवन, धादिङ र गोरखाका पहाडी क्षेत्रमा रहेको छ । हरेक वर्ष भदौ २२ गते चितवन, मकवानपुर, धादिङ र गोरखामध्ये पालैपालो एक जिल्लामा न्वागी महोत्सव आयोजना गर्ने गरिएको छ । न्वागीलाई चेपाङ समुदायको मौलिक संस्कृति, जीवनशैली, प्रकृतिसँगको सम्बन्ध र सामाजिक एकता झल्काउने महत्वपूर्ण पर्वका रूपमा लिइन्छ ।




प्रतिक्रिया