केरुङ नाकामा गएको पहिरोपछि उद्धार कार्य तिब्र


एजेन्सी । चीन–नेपाल सीमास्थित केरुङ (गिइरोङ) नाकामा गत अगस्ट २६ मा गएको विनाशकारी पहिरोपछि उद्धार तथा राहत कार्य जारी रहेको छ ।

पहिरोपछि सीमा क्षेत्रमा भएको क्षतिको अवस्था र उद्धार कार्यको वस्तुस्थिति बुझ्न विदेशी सञ्चारकर्मीहरूको टोलीले प्रभावित क्षेत्रको भ्रमण गरेको छ ।

उच्च हिमाली क्षेत्रमा हिमनदी (ग्लेसियर) भत्किएपछि आएको पहिरोले सीमा क्षेत्रमा ठूलो क्षति पुर्‍याएको चिनियाँ अधिकारीहरूले बताएका छन् ।

प्राकृतिक विपद्मा परी हालसम्म ४३ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ५१९ जना अझै बेपत्ता छन् । बेपत्ता हुनेमा २३ विभिन्न देशका २६१ जना विदेशी नागरिकसमेत रहेका छन् ।

उद्धार कार्यबारे जानकारी दिँदै सिजाङ (तिब्बत) जनसरकारका कार्यकारी उपाध्यक्ष रेन वेईले चीनले व्यापक जनशक्ति, प्रविधि र उपकरण परिचालन गरी उद्धार कार्यलाई तीव्रता दिएको जानकारी दिए ।

उनका अनुसार हालसम्म २ हजार ५ सयभन्दा बढी उद्धारकर्मी, ५ सयभन्दा बढी सवारीसाधन तथा ९ हजारभन्दा बढी आधुनिक उद्धार उपकरण परिचालन गरिएको छ ।

प्रभावित क्षेत्रमा उद्धार तथा निगरानीका लागि ड्रोनमार्फत १ हजारभन्दा बढी उडान गरिएको छ ।

त्यस्तै, प्रभावित क्षेत्रमा हवाई माध्यमबाट ५.४३ टन राहत सामग्री खसालिएको चिनियाँ अधिकारीहरूले बताएका छन् ।

थप पहिरो तथा अन्य जोखिमको सम्भावनालाई ध्यानमा राख्दै ढिस्को र खोँचहरूको चौबीसै घण्टा प्राविधिक निगरानी भइरहेको छ ।

नाकामा आवागमन बन्द भएपछि अलपत्र परेका १ हजार ७ सय २० नेपाली सीमावर्ती बासिन्दालाई स्थानीय चिनियाँ अधिकारीहरूले आवश्यक सहयोग उपलब्ध गराएका छन् ।

केरुङ नाका हुँदै अन्यत्र जान लागेका ३ हजार ३ सय ८८ विदेशी नागरिकलाई भने वैकल्पिक मार्गमार्फत गन्तव्यतर्फ पठाइएको जनाइएको छ ।

विपद् व्यवस्थापनका लागि नेपाल र चीनबीचको सहकार्यलाई समेत प्राथमिकता दिइएको छ ।

चीनले नेपाललाई मौसम, जलविज्ञान तथा हिमनदीसम्बन्धी तथ्याङ्क नियमित रूपमा उपलब्ध गराउँदै आएको जनाएको छ ।

नेपाल सरकारको अनुरोधमा चीनले सुरुङ उद्धार विशेषज्ञ, डीएनए परीक्षण विज्ञलगायत प्राविधिक टोली तथा आपत्कालीन राहत सामग्री नेपाल पठाएको कार्यकारी उपाध्यक्ष वेईले जानकारी दिए ।

चिनियाँ अधिकारीहरूले विपद्को जोखिम न्यूनीकरण तथा उद्धार कार्यमा नेपालसँग समन्वय र सहकार्यलाई निरन्तरता दिने बताएका छन् ।