जेनजी आन्दोलनको एक वर्ष: सत्ता बदलिए पनि प्रश्न र असन्तुष्टि उस्तै


काठमाडौ । तत्कालीन सरकारसँग विभिन्न माग राख्दै जेनजी पुस्ताले गरेको आन्दोलनको एक वर्ष पूरा भएको छ।

जेनजी युवाहरूले स्वतःस्फूर्त रूपमा सुरु गरेको आन्दोलन विभिन्न पक्षबाट दुरुपयोग हुँदा हिंसात्मक र अप्रिय घटनामा परिणत भएको थियो। गत वर्ष भदौ २३ गते काठमाडौंमा भएको प्रदर्शनका क्रममा १९ जनाको ज्यान गएको थियो। त्यसको भोलिपल्ट भदौ २४ गते देशका विभिन्न स्थानमा विध्वंसात्मक घटना भएका थिए।

जेनजी आन्दोलनपछि नेपालको राजनीतिक परिदृश्यसमेत बदलिएको छ। तत्कालीन संसद् विघटन भएर नयाँ निर्वाचन सम्पन्न भइसकेको छ भने अहिले बालेन्द्र शाह नेतृत्वको सरकार सञ्चालनमा छ।

राजनीतिक उथलपुथलपछि राज्यसत्ताको नेतृत्व युवापुस्ताको हातमा पुगे पनि तत्कालीन जेनजी आन्दोलनकारी भने सन्तुष्ट देखिएका छैनन्। सत्तापक्षमा समाहित भएका सीमित अभियन्ताबाहेक अन्यले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै आएका छन्।

आन्दोलनको पहिलो वार्षिकीका अवसरमा जेनजी अभियन्ताहरूले सामाजिक सञ्जालमार्फत आफ्ना धारणा सार्वजनिक गरेका छन्। केही चर्चित अभियन्ताका अभिव्यक्तिमा आन्दोलनको वर्तमान अवस्था, सरकारको कार्यशैली र बाँकी रहेका प्रश्नप्रति असन्तुष्टि देखिन्छ।

एक वर्षअघि राज्यले गोली दियो, अहिले मौनता : रक्षा बम

जेनजी अभियन्ता रक्षा बमले नागरिकले सरकारसँग प्रश्न गर्न र सत्तामा रहेकाहरूलाई जवाफदेही बनाउन सडकमा उत्रिनुपर्ने अवस्था अझै अन्त्य नभएको बताएका छन्। उनले एक वर्षअघि प्रश्न सोध्नेहरूलाई राज्यले गोली चलाएको र अहिले प्रश्न गर्नेहरूलाई मौनतामार्फत बेवास्ता गरिएको टिप्पणी गरेका छन्।

‘एक वर्षअघि प्रश्न सोध्नेहरूलाई राज्यले गोली दियो। आज प्रश्न सोध्नेहरूलाई राज्यले मौनता दिइरहेको छ। गोली र मौनता यी दुई एउटै नियत बोकेका फरक हतियार हुन्,’ उनले भनेका छन्। उनका अनुसार प्रश्नहरूलाई दबाएर वा बेवास्ता गरेर नागरिकको आवाज सधैँका लागि समाप्त गर्न नसकिने र जवाफ नआएसम्म ती पुस्तौँपुस्तासम्म जीवित रहनेछन्।

यो जेनजी सरकार होइन : मिराज ढुंगाना

अभियन्ता मिराज ढुंगानाले आन्दोलनपछि देशले विभिन्न उतारचढाव बेहोरेको भन्दै अहिलेको सरकारलाई ‘जेनजी सरकार’ भन्न आफू तयार नरहेको बताएका छन्।

देशलाई परिवर्तन आवश्यक रहेको र तत्कालीन अवस्थाबाट निकासका लागि सत्ता परिवर्तनको आन्दोलन आवश्यक भएको उल्लेख गर्दै उनले वर्तमान सरकारलाई राम्रो काम गर्न शुभकामना भने दिएका छन्।

तर सरकारको नियत सही भए पनि काम गर्ने ढंगमा समस्या रहेको उनको टिप्पणी छ।‘उहाँहरूको नियत सही होला, तर ढंग भन्ने पनि कुरा हुन्छ। त्यसको कमी भयो भने नियतले मात्रै केही हुँदैन,’ उनले भनेका छन्।

सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने निर्णय सन्दिग्ध थियो : तनुजा पाण्डे

अभियन्ता तनुजा पाण्डेले भ्रष्टाचारविरुद्ध तथा पारदर्शिता र जवाफदेहिताको माग गर्दै सुरु भएको आन्दोलनको एक वर्ष बितिसक्दा पनि आधारभूत मागमध्ये एउटा पनि पूर्ण रूपमा पूरा नभएको बताएकी छन्।

पूर्वप्रधानमन्त्री सुशीला कार्कीप्रति सम्मान रहेको र निर्वाचन गराएकोमा धन्यवाद दिँदै उनले कार्कीलाई प्रधानमन्त्री बनाउने निर्णयको प्रक्रियामाथि प्रश्न उठाएकी छन्। डिस्कोर्डमा भएको सीमित मतदानलाई आधार बनाएर प्रधानमन्त्री चयन गरिएको भन्ने भाष्य कसरी स्थापित भयो भन्ने प्रश्न गर्दै उनले त्यस प्रक्रियाको वैधतामाथि समेत प्रश्न उठाएकी छन्।

‘एउटा माग पनि पूरा भएको छैन’ : माजिद अन्सारी

अभियन्ता माजिद अन्सारीले जेनजी प्रतिनिधि र नेपाल सरकारबीच भएको १० बुँदे सम्झौताको लामो समय बितिसक्दा पनि त्यसमा समेटिएका आधारभूत मागमध्ये एउटा पनि पूर्ण रूपमा कार्यान्वयन नभएको दाबी गरेका छन्।

उनले आन्दोलन शान्तिपूर्ण रूपमा सुरु भएर एकाएक कसरी उग्र बन्यो भन्ने प्रश्न गरेका छन्। साथै आन्दोलनका क्रममा विभिन्न राजनीतिक नेता तथा व्यवसायिक प्रतिष्ठानमाथि भएको आक्रमण र आगजनीको घटनामा संलग्न पक्षको पहिचान तथा भूमिकाबारे छानबिन हुनुपर्ने माग गरेका छन्।

तत्कालीन थुनामा रहेका रवि लामिछानेलाई रिहा गर्न कथित रूपमा गैरकानुनी कागजात बनाउनेमाथि कारबाही किन नभएको भन्ने प्रश्नसमेत उनले उठाएका छन्।

न्याय अझै बाँकी छ : रवि किरण हमाल

अभियन्ता रवि किरण हमालले जेनजी आन्दोलनले उठाएका प्रश्न, शहीदहरूको बलिदान र नागरिकका अपेक्षालाई बेवास्ता गरिए लोकतान्त्रिक संस्थाप्रतिको विश्वास थप संकटमा पर्ने बताएका छन्।

उनले सरकारले जनताको आवाज सुन्न, आन्दोलनको मर्म बुझ्न, दोषीमाथि कारबाही गर्न, निर्दोषलाई रिहा गर्न तथा छानबिन प्रतिवेदन सार्वजनिक गर्नुपर्ने बताएका छन्। ‘सरकार परिवर्तन हुँदैमा आन्दोलनको उद्देश्य समाप्त भएको ठान्नु गम्भीर भूल हुनेछ। आन्दोलन कुनै व्यक्ति वा दलविरुद्ध नभई अन्याय, दण्डहीनता, भ्रष्टाचार, अपारदर्शिता र नागरिक अधिकारमाथिको हस्तक्षेपविरुद्ध थियो,’ उनले भनेका छन्।

एक वर्ष बितिसक्दा पनि प्रश्नहरू बाँकी रहेको र शहीदहरू सम्झनामा रहे पनि न्याय अझै बाँकी रहेको उनको भनाइ छ।

प्रश्न सोध्न छाड्ने छैनौँ : जस्मिन ओझा

अभियन्ता जस्मिन ओझाले आफूहरू पारदर्शिता र जवाफदेहिताको माग गर्दै शान्तिपूर्ण आन्दोलनमा सहभागी भएको बताएकी छन्।

उनका अनुसार आन्दोलनको एक वर्ष पूरा भइसक्दा पनि आधारभूत मागमध्ये एउटा पनि पूर्ण रूपमा पूरा भएको छैन। उल्टै, आन्दोलनकारीले अझै पनि अनुत्तरित प्रश्नको जवाफ पर्खिनुपरेको उनको भनाइ छ।

‘एक वर्ष बित्यो, तर न त ती प्रश्नहरूको जवाफ आएको छ, न त पीडितले न्याय पाएका छन्,’ उनले भनेकी छन्। जति नै दबाउन खोजिए पनि सत्य र न्यायको आवाज नहराउने भन्दै ओझाले आफूहरूले प्रश्न सोध्न नछाड्ने र जवाफ नपाउन्जेल संघर्ष जारी राख्ने बताएकी छन्।