बाढीपीडितका लागि भायानेटद्वारा २० लाख सहयोग


काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेसन्स लिमिटेडले रसुवामा बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख रुपैयाँ सहयोग गरेको छ ।

रसुवामा हालै आएको विनाशकारी बाढीबाट प्रभावित व्यक्ति, परिवार तथा समुदायको राहत र पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको कम्पनीले जनाएको छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत उपलब्ध हुने सहयोगले सरकारले सञ्चालन गरिरहेका राहत, उद्धार तथा पुनःस्थापनाका कार्यमा योगदान पुग्ने अपेक्षा गरिएको भायानेटले जनाएको छ ।

कम्पनीले बाढीमा परी ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ । साथै, विपद्को समयमा उद्धार, राहत तथा सहयोगमा खटिएका सुरक्षाकर्मी, उद्धारकर्मी, स्वयंसेवक, सरकारी निकाय तथा विभिन्न संघसंस्थाप्रति आभार व्यक्त गरेको छ ।

भायानेटले प्रभावित समुदायको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि भइरहेका राष्ट्रिय प्रयासमा आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।