बाढी प्रभावित क्षेत्रमा तरुण दल सक्रिय : केन्द्रीय अध्यक्ष कोइराला र धादिङ अध्यक्ष धमला फिल्डमै


धादिङ । बाढीबाट प्रभावित नागरिकलाई तत्काल राहत र पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले नेपाल तरुण दलले नुवाकोट र धादिङका प्रभावित क्षेत्रमा स्वयंसेवी अभियानलाई तीव्र बनाएको छ। नेपाल तरुण दल केन्द्रिय अध्यक्ष मनिष कोइराला र धादिङ तरुण दलका जिल्ला अध्यक्ष शंकर धमलाको नेतृत्वमा युवा स्वयंसेवकहरू प्रभावित क्षेत्रमा पुगेर सरसफाइ, अस्थायी पूर्वाधार निर्माण तथा स्थानीयवासीलाई आवश्यक सहयोग उपलब्ध गराइरहेका छन्।

नुवाकोटको विदुर नगरपालिका–स्थित इन्द्रेणी चोकबाट त्रिशूली जोड्ने तुइन निर्माणको कामसँगै तरुण दलले प्रभावित नागरिकका लागि प्रतिक्षालय निर्माणलाई समेत तीव्रता दिएको छ। नेपाली सेनाको सहयोगमा उक्त क्षेत्रमा दुईवटा शौचालय निर्माण गर्नुका साथै बाढी प्रभावित नागरिकका लागि तीनवटा प्रतिक्षालय निर्माण गरिएको अध्यक्ष धमलाले जानकारी दिए ।

विपद्को समयमा पीडित नागरिकको साथमा उभिनु राज्य, राजनीतिक दल तथा सबै जिम्मेवार पक्षको साझा दायित्व भएको अध्यक्ष धमलाको भनाइ छ । विपद्का बेला प्रभावित बस्तीमा तत्काल पुगेर आवश्यक सहयोग गर्नु राजनीतिक जिम्मेवारीभन्दा माथिको मानवीय दायित्व भएको उनले बताए ।

यसैक्रममा भोलि(बुधबार) त्रिशूली बजारस्थित एक विद्यालयमा सरसफाइ तथा व्यवस्थापन कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको उनले बताए । विपद्को समयमा राजनीतिक प्रतिस्पर्धाभन्दा मानवीयता र सेवाको भावना प्राथमिकतामा राखेर प्रभावित नागरिकलाई सहयोग गर्नु आवस्यकता रहेकोे धमलाले औल्याए ।