राष्ट्रियसभा बैठक : भोटेकोशी बाढी प्रभावितलाई राहतसँगै रोजगारी र सहुलियत ऋण दिन सांसदको माग


काठमाडौँ, २४ भदौ । राष्ट्रियसभाका सांसदहरूले भोटेकोशी बाढी प्रभावितलाई राहतसँगै रोजगारी र सहुलियत ऋण दिन माग गरेका छन् ।

राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसदहरूले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण, पुनःस्थापना र पुनर्निर्माणका कामलाई प्रभावकारी बनाउन तथा प्रभावितलाई रोजगारी र सहुलियतपूर्ण ऋणको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

सांसद मोहम्मद खालिदले भोटेकोशी बाढीप्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण, पुनःस्थापना र पुनर्निर्माणलाई प्राथमिकता दिनुपर्ने बताए । प्रभावित नागरिकका लागि रोजगारीको व्यवस्था तथा सहुलियतपूर्ण ऋण उपलब्ध गराउन आवश्यक रहेको उनको भनाइ छ ।

खालिदले मुलुकमा खाना पकाउने एलपी ग्यासको अभाव बढ्दै गएको उल्लेख गर्दै दैनिक करिब एक लाख सिलिन्डरको माग रहेकामा ३० हजार सिलिन्डर मात्र आपूर्ति भइरहेको बताए । दैनिक उपभोग्य वस्तुको मूल्यसमेत बढिरहेको भन्दै बजार व्यवस्थापनमा सरकारको ध्यान जानुपर्ने उनले जोड दिए ।

सांसद तुलप्रसाद विश्वकर्माले रसुवा बाढीपीडितलाई समयमै राहत उपलब्ध गराउन तथा सम्पर्कविहीन व्यक्तिको खोज तथा उद्धारलाई प्राथमिकता दिन सरकारसँग आग्रह गरे । बाढीप्रभावित क्षेत्रमा स्वास्थ्य जोखिम बढ्न सक्ने भएकाले प्रभावितको स्वास्थ्य परीक्षण तथा उपचारको उचित व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए ।

सांसद ललितजङ्ग शाहीले भोटेकोशी बाढी जलवायु परिवर्तनका कारण उत्पन्न भएको भन्दै जलवायु परिवर्तनमा नेपालको योगदान नगन्य रहे पनि त्यसको असर नेपालले ठूलो मात्रामा भोग्नुपरेको बताए । “जलवायुजन्य विपद्बाट भएको क्षतिका लागि धनी मुलुकले क्षतिपूर्ति दिनुपर्ने र हानि तथा नोक्सानी कोषबाट नेपाललाई पर्याप्त रकम उपलब्ध गराउनुपर्छ,” उनले भने ।

सांसद रेणु चन्दले भोटेकोशी बाढीको विपद् व्यवस्थापनमा केन्द्र र स्थानीय सरकारबीच पर्याप्त समन्वय हुन नसकेकोमा दुःख व्यक्त गरिन् । जनताको सबैभन्दा नजिकको सरकार स्थानीय तह भएकाले विपद् व्यवस्थापनमा स्थानीय सरकारलाई पर्याप्त स्रोत, साधन र अधिकार दिनुपर्ने उनको भनाइ छ ।

“प्रदेश सरकारले तुइन निर्माणलगायतका माध्यमबाट समेत प्रभावित क्षेत्रमा सहयोग गरेको छ,” उनले भनिन्, “होल्डिङ सेन्टरमा रहेका विस्थापितलाई लामो समयसम्म राखिराख्नुको सट्टा उचित स्थानमा व्यवस्थापन गर्नुपर्छ । गर्भवती महिला, बालबालिका, अशक्त तथा बिरामीको विशेष हेरचाहको व्यवस्था हुनुपर्छ ।”

सांसद किरणबाबु श्रेष्ठले राष्ट्रिय सङ्कटको समयमा सबै नेपाली एकजुट हुनुपर्ने बताए । विपद् प्रभावितको उद्धार तथा सहयोगका लागि राज्यका सबै निकाय र नागरिक एकताबद्ध भएर अघि बढ्नुपर्ने उनको भनाइ छ ।

सांसद गीता देवकोटाले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा समयमा उद्धार हुन नसक्दा धेरै नागरिकले ज्यान गुमाउनुपरेको बताइन् । विपद्बाट विस्थापित नागरिकलाई समयमै उचित स्थानमा व्यवस्थापन गर्नुपर्ने तथा पहिरोका कारण अवरुद्ध सडक सञ्चालनका लागि तत्काल पहल गर्नुपर्ने उनले बताइन् ।

राहत वितरण वैज्ञानिक र आवश्यकताको आधारमा हुनुपर्नेमा जोड दिँदै उनले तत्काल विपद् प्रतिरोधी संरचना निर्माण गर्न, प्रभावितका लागि पुनःस्थापनाको विशेष प्याकेज ल्याउन तथा विपद्बाट प्रभावित नागरिकलाई मनोसामाजिक परामर्श उपलब्ध गराउन सरकारसँग माग गरिन् ।