महँगो सम्बन्धविच्छेद : गेमिङ टाइकुनलाई एक अर्ब ५० करोड डलर तिर्न आदेश


दक्षिण कोरियाको सियोल परिवार अदालतले भिडियो गेम कम्पनी स्माइलगेटका संस्थापक क्वोन ह्युक–बिनलाई सम्बन्धविच्छेदका क्रममा पूर्व पत्नीलाई २० खर्ब वन अर्थात् एक अर्ब ५० करोड अमेरिकी डलरभन्दा बढी रकम तिर्न र कम्पनीको ३५ प्रतिशत सेयर हस्तान्तरण गर्न आदेश दिएको छ ।

अदालतले क्वोन र उनकी पत्नीबीचको सम्बन्धविच्छेद स्वीकृत गर्दै करिब २५ खर्ब वन मूल्यको सेयर तथा ६५ अर्ब वन नगद हस्तान्तरण गर्न आदेश दिएको हो । स्थानीय सञ्चारमाध्यमका अनुसार क्वोनकी पूर्व पत्नी लीले सन् २०२२ मा सम्बन्धविच्छेदका लागि निवेदन दिँदै स्माइलगेटमा आधा हिस्सेदारी दाबी गरेकी थिइन् । उनले कम्पनी स्थापना तथा प्रारम्भिक व्यवस्थापनमा योगदान गरेको र घरेलु काममार्फत समेत सहयोग गरेकाले सम्पत्तिमा हिस्सा पाउनुपर्ने दाबी गरेकी थिइन् ।

क्वोनले सन् २००२ मा स्माइलगेट स्थापना गरेका थिए । उनको कुल सम्पत्ति करिब ८० खर्ब वन रहेको बताइएको छ । अदालतले दुवै पक्षलाई विवाह विच्छेदका लागि समान रूपमा जिम्मेवार ठहर गर्दै सम्बन्धविच्छेद स्वीकृत गरे पनि लीले माग गरेको थप क्षतिपूर्ति भने अस्वीकार गरेको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार क्वोनले ली कम्पनीकी सहसंस्थापक नभएको र व्यवस्थापनमा प्रत्यक्ष संलग्न नरहेको दाबी गर्दै आएका थिए ।

यसअघि एसके समूहका अध्यक्ष चे ताई–विनलाई पनि पूर्व पत्नी रोह सोह–योङलाई ६६ करोड ६० लाख अमेरिकी डलर तिर्न आदेश दिइएको थियो । सियोल उच्च अदालतले जुलाईमा वैवाहिक सम्पत्तिमा रोहको हिस्सा निर्धारण गर्दै उक्त फैसला सुनाएको थियो ।

क्वोनको फैसलाले दक्षिण कोरियामा ठूला प्रविधि तथा गेमिङ व्यवसायका सम्पत्तिमा सम्बन्धविच्छेदपछि पति–पत्नीको अधिकारबारे बहसलाई थप चासोको विषय बनाएको छ । रासस