ट्रम्पको पाँच हजार डलर लाभांशको वाचा


डालस, २५ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले काङ्ग्रेसका दुवै सदनमाथिको नियन्त्रण कायम राखे प्रत्येक वयस्क अमेरिकी नागरिकलाई पाँच हजार अमेरिकी डलर दिने वाचा गरेका छन् ।

डालसमा आयोजित रिपब्लिकन मध्यावधि सम्मेलनलाई सम्बोधन गर्दै उनले प्रस्तावित रकमलाई ‘ट्रम्प लाभांश’ को संज्ञा दिँदै रिपब्लिकन विजयी भए नागरिकले त्यसको प्रत्यक्ष लाभ पाउने दाबी गरे । “रिपब्लिकनहरू विजयी भएमा तपाईंहरू पनि हामीसँगै विजयी हुनुहुनेछ र पाँच हजार डलर पाउनुहुनेछ । यसलाई ट्रम्प लाभांश भनिन्छ”, उनले भने ।

राष्ट्रपति ट्रम्पले रकम कहाँबाट जुटाइने हो भन्नेबारे स्पष्ट पारेनन् । प्रत्येक वयस्कलाई पाँच हजार डलर दिँदा राज्यकोषमा पर्ने भार खर्बौं डलर पुग्न सक्ने भए पनि उनले भने, “हाम्रो देशले यति धेरै पैसा कमाउँदैछ । ”

नोभेम्बर ३ को निर्वाचनमा रिपब्लिकनलाई जिताउन समर्थकलाई आग्रह गर्दै उनले आफू मतपत्रमा रहेको कल्पना गरेर मतदान गर्न आह्वान गरे । हालका जनमत सर्वेक्षणमा उनको स्वीकृति दर ३० प्रतिशतको आसपास रहेको र उच्च मूल्यवृद्धि तथा इरानविरुद्धको युद्धप्रति मतदाताको असन्तुष्टि बढिरहेको बताइएको छ ।

राष्ट्रपति ट्रम्पले इरानविरुद्धको युद्धको बचाउ गर्दै अमेरिका विजयी हुने र त्यससँगै तेलको मूल्य अझ घट्ने दाबी गरे । खाद्यान्नलगायत अधिकांश वस्तुको मूल्य घटिरहेको उल्लेख गर्दै उनले रणनीतिक रूपमा महत्त्वपूर्ण हर्मुज जलघाँटीलाई आफ्नै नाममा राख्न सकिने सुझावसमेत दिए ।

उनले डेमोक्रेटहरू विजयी भए अमेरिका साम्यवादी देश बन्ने दाबी गर्दै आगामी निर्वाचनले देशको आगामी २५० वर्षको दिशा निर्धारण गर्ने बताए ।

हालको प्रक्षेपणअनुसार डेमोक्रेटहरूले प्रतिनिधिसभामा २३० र रिपब्लिकनहरूले २०५ सिट तथा सिनेटमा डेमोक्रेटहरूले ५१ र रिपब्लिकनहरूले ४९ सिट जित्ने अनुमान गरिएको छ । यस्तो अवस्थामा राष्ट्रपति ट्रम्पप्रति वफादार मतदातालाई परिचालन गर्नुका साथै उनको कार्यकालप्रति असन्तुष्ट स्वतन्त्र मतदातालाई पार्टीबाट टाढा जान नदिनु रिपब्लिकनका लागि मुख्य चुनौती बनेको छ ।

अमेरिकन एयरलाइन्स सेन्टरमा भएको सम्मेलनमा रिपब्लिकनहरूले कर कटौती, आप्रवासन नियन्त्रण, उत्पादन वृद्धि र औषधिको मूल्य घटाउने विषयलाई प्राथमिकतामा राखेका थिए । सम्मेलनमा डेमोक्रेटिक सिनेटर जोन फेटरम्यानको भिडियो सम्बोधनसमेत समावेश गरिएको थियो ।

राजनीतिक चुनौतीका बाबजुद सम्मेलनको वातावरण उत्सवमय देखिएको थियो । राष्ट्रपति ट्रम्पका समर्थकले उनको नाम र तस्बिर तथा अमेरिकी झण्डा अङ्कित पोसाक लगाएका थिए । राष्ट्रिय गानका क्रममा ‘युएसए ! युएसए !’ को नारा गुञ्जिएको थियो ।

मिशिगनबाट सहभागी ७७ वर्षीया कन्जरभेटिभ पोडकास्टर सुसान कोकिन्डाले रिपब्लिकनहरूले राम्रो प्रदर्शन गर्ने अपेक्षा व्यक्त गर्दै भने, “डोनाल्ड ट्रम्प परम्परागत राष्ट्रपति हुनुहुन्न र उहाँले रिपब्लिकन पार्टीलाई पुनः आकार दिइरहनुभएको छ ।”

मध्यावधि निर्वाचनका लागि आयोजना गरिएको यो पहिलो रिपब्लिकन राष्ट्रिय सम्मेलन हो । औपचारिक पार्टीगत निर्णय वा उम्मेदवार मनोनयनभन्दा पनि राष्ट्रपति ट्रम्पको कार्यकाल र रिपब्लिकन उम्मेदवारको प्रचारमा केन्द्रित दुई रातको चुनावी कार्यक्रमका रूपमा सम्मेलन आयोजना गरिएको छ । रासस